आईएमआरलाई शून्य लागतमा श्रमिक पठाउने म्यानपावरको अन्तर्राष्ट्रिय प्रमाणपत्र

नेपाली श्रमिक भर्नामा नयाँ मापदण्ड स्थापना गर्न सफल भएका छौं : आईएमआर

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

International Certificate of Manpower to send workers at zero cost to IMR

काठमाडौँ — वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको भन्दै इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट (आईएमआर)लाई सोमवार अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस) को प्रमाणपत्र दिइएको छ । अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाउने आईएमआर नेपालको पहिलो म्यानपावर कम्पनी हो ।

आईएमआरले यो प्रमाणपत्रको दाबीका लागि डेढ जर्षअघि आवेदन दिएको थियो । यसको म्याद २१ मे २०२७ सम्म तोकिएको छ । आईएमआरले २०१८ देखि शून्य लागतमा कतार, संयुक्त अरब इमिरेट्स र मलेसियामा १८ हजार श्रमिक पठाएको छ । त्यसरी गएका श्रमिकको भर्ना प्रक्रियाको बेलायतमा रहेको ‘इन्टरनेसनल एसोसियट्स लिमिटेड’ले परीक्षण गरेको थियो । आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउनेको संख्या संसारभरमै ५ वटा मात्रै म्यानपावर कम्पनी रहेको छ । जसमा सिंगापुर, पोल्यान्ड, नेपाल, केन्या, मेक्सिकोका एक–एकवटा म्यानपावर कम्पनीले आइरिस प्रमाणपत्र पाएका छन् ।

आईएमआरका प्रबन्धक निर्देशक वाई.बी राईले सन् २०१८ देखि श्रमिक भर्नासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिबद्धताअनुसार भर्ना प्रक्रियालाई पूर्णरुपमा नैतिक र शोषणभक्त बनाएको बताए । ‘जसको नतिजा स्वरुप हामी अन्तर्राष्ट्रिय रुपमा नैतिक म्यानपावर कम्पनीको रुपमा पहिचान पाउन सफल भयौं,’ उनले भने, ‘उनले यसले नेपाली श्रमिकका लागि सुरक्षित र सम्मानजनक रोजगारीको बाटो खोलेको छ । नेपाली श्रमिकले बहुर्राष्ट्रिय कम्पनीमा रोजगार गर्न पाउने पहुँच विस्तार भएको छ ।’

उनले अन्तर्राष्ट्रिय श्रम संगठनका निष्पक्ष नियुक्तिसम्बन्धी सिद्धान्तहरू, मानव अधिकारका मापदण्डहरू र रोजगारदाताले भर्नासँग सम्बन्धित सम्पूर्ण शुल्क वहन गर्ने सिद्धान्तलाई म्यानपावरले पूर्ण रूपमा पालन गर्न थप जिम्मेवारी थपिएको बताए । ‘हामी भर्ना प्रक्रियामा हुने अनावश्यक शुल्क, ठगी, शोषण र दुरुपयोगबाट श्रमिकलाई जोगाउने प्रतिबद्धता गर्छौं,’ उनले भने ।

International Certificate of Manpower to send workers at zero cost to IMR

आप्रवासनको क्षेत्रमा कार्यरत सेन्टर फर स्टडी लेवर एन्ड मोबिलिटीका निर्देशक जीवन बानियाँका अनुसार आइरिस प्रमाणपत्र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) द्वारा विकसित एउटा उच्चतम मापदण्ड हो । ‘यसले श्रमिक भर्ना प्रक्रियामा नैतिकता, पारदर्शिता, उत्तरदायित्व र न्यायोचित व्यवहारलाई सुनिश्चित गर्छ । यो प्रमाणपत्र प्राप्त गर्ने म्यानपावर कम्पनीले आफ्नो भर्ना प्रक्रिया स्वच्छ, मानवीय र श्रमिक केन्द्रित राखेको प्रमाण हो,’ उनले भने,‘यो कार्यले नेपालबाट शून्य लागतको नीतिमा श्रमिक पठाउन सकिन्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको छ ।’

कान्तिपुर

Link copied successfully