जलविद्युत्‌ आयोजनाबाट १ अर्ब ७३ करोड रुपैयाँ रोयल्टी

आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ४४ करोड ४४ लाख रुपैयाँ रोयल्टी उठेको थियो ।

जेष्ठ २७, २०८२

सीमा तामाङ

Royalty of Rs 1.73 billion from hydroelectric projects

काठमाडौँ — चालु आर्थिक वर्षमा जेठसम्म जलविद्युत् आयोजनाहरुबाट १ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । चालु आर्थिक वर्षको र गत वर्षको बक्यौतासहित हालसम्म १ अर्ब ७३ करोड रुपैयाँ रोयल्टी उठेको विद्युत् विकास विभागले जनाएको छ ।

विद्युत् ऐन, २०४९ को दफा ११ मा अनुमतिपत्र प्राप्त व्यक्तिले जलविद्युत्‌को व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रति जडित किलोवाट वार्षिक एक सय रुपैयाँ र प्रतियुनिट किलोवाट घन्टा सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले रोयल्टी तिर्नुपर्छ । 

साथै १५ वर्षपछि प्रति जडित किलोवाट वार्षिक एक हजार रुपैयाँ र प्रति युनिट किलोवाट घन्टा सरदर बिक्री मूल्यको १० प्रतिशतका दरले जलविद्युत् आयोजनाहरुले सरकारलाई रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ । 

आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ४४ करोड ४४ लाख रुपैयाँ रोयल्टी उठेको थियो । आर्थिक वर्ष २०८०/८१ सम्म विभिन जलविद्युत् आयोजनाहरुको २४ करोड ३८ लाख २६ हजार रुपैयाँ रोयल्टी बक्यौता रहेकोसमेत विभागले जनाएको छ ।

गत वैशाख ४ मा विभागले आर्थिक वर्ष ०८०/८१ सम्म रोयल्टी बापत बुझाउनु पर्ने रकम नबुझाएका निजी प्रवर्द्धकहरुको बाँकी बक्यौता रोयल्टी असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई भनेको छ । प्राधिकरणले निजी प्रवर्द्धकहरुलाई तिर्नुपर्ने रकमबाट रोयल्टीबापतको रकम कट्टा गरी राजस्व दाखिला गर्ने विभागले सूचना जारी गरेको थियो । विभागले आर्थिक वर्ष ०६६/०६७ देखि चालु आर्थिक वर्षसम्म ३२ अर्ब २६ करोड २८ लाख रुपैयाँ रोयल्टी उठाएको छ । आर्थिक वर्ष ७९/८० मा ३ अर्ब १५ करोड ५१ लाख र आर्थिक वर्ष ७८/७९ मा ३ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रोयल्टी उठेको छ । आर्थिक वर्ष ०६६/६७ मा ७६ करोड ८८ लाख ४४ हजार रुपैयाँ रोयल्टी उठेको छ ।  

Royalty of Rs 1.73 billion from hydroelectric projects

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनले ४३ करोड २२ लाख ५६ हजार असुल गर्न भनेको छ । 'विभिन्न जलविद्युत् आयोजनाबाट २०७९/८० मा रोयल्टीबापत उठ्नुपर्ने  २८ करोड ६९ लाख ९५ हजार र ०८०/८१ मा १६१ जलविद्युत् कम्पनीबाट ३ अर्ब ५८ करोड ९७ लाख ७ हजारसमेत गरी ३ अर्ब ८७ करोड ६७ लाख २ हजारमध्ये ३ अर्ब ४४ करोड ४४ लाख ४६ हजार असुल गरी ४३ करोड २२ लाख ५६ हजार असुल गर्न बाँकी रहेको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ । 

आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना नलाग्नेसमेत महालेखाले जनाएको छ । सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी बक्यौता असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully