थामिएन नेप्से घट्ने क्रम, कारोबार रकम भने बढ्यो

नेप्से ११.०६ अंकले घटेर २ हजार ६ सय २९.८९ बिन्दुमा ओर्लियो, चार कारोबार दिनमा सेयर बजारको आकार १ खर्ब ७ अर्ब रुपैयाँले खुम्चियो

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Thamien NEPSE decreasing trend, turnover increased

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११.०६ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ४१ प्रतिशतले घटेर २ हजार ६ सय २९ दशमलव ८९ बिन्दुमा ओर्लिएको छ । गत मंगलबारयता नेप्से घट्ने क्रम जारी छ । गत मंगलबार ३५.७३, बुधबार ११.९७ र बिहीबार ५.९९ अंकले घटेको थियो । नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

सो दिन कारोबारमा आएकामध्ये कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको मूल्य घट्यो । नेप्सेका अनुसार ८६ हजार ६ सय ३६ पटकको किनबेचबाट ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ । आइतबार कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब ९७ करोड रुपैयाँ कारोबार भएकामा आइतबार सवा ९ अर्ब रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ९९ लाख ९२ हजार १ सय ८१ कित्ता सेयर किनबेच भए ।

नेप्से घटेसँगै पछिल्ला चार कारोबार दिनमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा १ खर्ब ७ अर्ब ३१ करोड ९८ लाख रुपैयाँले संकुचन आएको छ  । गत सोमबार ४४ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४३ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।

जलविद्युत्, होटल तथा पर्यटनबाहेक उपसमूहहरू घटे । जलविद्युत् ४२.४२, होटल तथा पर्यटन ८.४१ अंकले बढेको थियो । घट्ने उपसमूहहरूमा निर्जीवन बिमा ११६.३३, जीवन बिमा १००.४७, उत्पादन तथा प्रशोधन ५३.१३, लघुवित्त ३३.३४ र फाइनान्स २१.५३ अंकले अघि रहे । रिभर फल्स पावर लिमिटेड र पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढ्यो । चिलिमे हाइड्रोपावरको ८.०१, छ्याङ्दी हाइड्रोपावरको ८.०१ र हिमालयन पावर पार्टनरको मूल्य ७.९५ प्रतिशतले मूल्य घट्यो । 

सो दिन ओम मेगाश्री फर्मासिटिकल्सको मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गर्नुपरेको थियो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९.८३, समाज लघुवित्तको ८.३५, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६.८० र उपकार लघुवित्तको मूल्य ६.६२ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, बुटवल पावर कम्पनी र सानिमा माई हाइड्रोपावर अघि रहे । राधी विद्युत् कम्पनीको ७२ करोड ९५ लाख, युनिभर्सल पावर कम्पनीको ६२ करोड २७ लाख, ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख, बुटवल पावर कम्पनीको ४४ करोड ५१ लाख र सानिमा माई हाइड्रोपावरको ४४ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully