काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन र अफ्रीकन स्वाइन फ्लूको अवस्था बुझ्न टोली परिचालन गरेको छ।
हाल मुलुकका केही स्थानका पशु चौपायहरूमा लम्पी स्किन र अफ्रीकन स्वाइन फ्लू देखा परेको भन्ने सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरूलाई परिचालन गरेको जनाएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गतका सम्बन्धी अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरी तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
रोगको वस्तुस्थितिको दैनिक/आवधिक रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा.तपेन्द्र प्रसाद बोहरालाई गराउने गरी फोकल पोइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ ।
बैठकले वर्षा यामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टे लगायतका किराहरूबाट सर्ने पशुको रागहरुको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोप र परिश्रमिकसमेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तीन वटै तहका सरकारको सहभागितामा हुने गरी परिचालन गर्न समेत निर्देशन दिएको छ।
