भैरहवा — रुपन्देहीका उद्योगी व्यवसायीले भारतीय रियलस्टेट कम्पनी दिल्ली ल्यान्ड फाइनान्स (डीएलएफ) समक्ष लुम्बिनी र आसपास क्षेत्रमा लगानी भित्र्याउन अनुरोध गरेका छन् । लामो मन्दीपछि अर्थतन्त्र चलायमान हुने क्रममा रहेको जनाउँदै उनीहरुले रियलस्टेट क्षेत्रमा लगानीका लागि अनुरोध गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा र डीएलएफ कम्पनीका पदाधिकारीबीच सोमबार यहाँ छलफल भएको थियो । भारतकै ठूलोमध्येको रियलस्टेट कम्पनीका लागि लुम्बिनी र आसपास लगानी गर्न उपयुक्त हुनेमा स्थानीय उद्योगी व्यवसायीले जोड दिए ।
‘लामो आर्थिक मन्दीपछि अर्थतन्त्र चलायमान हुने अवस्थामा छ,’ संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘यही बेला डीएलएफले पनि लगानीको सम्भावना पहिल्याउन चासो दिनु सकारात्मक हो ।’ ठूलो पुँजीको भारतीय कम्पनीले लगानीमा चासो देखाउनु नेपाल र भारतका लागि अवसर हुन सक्ने उनको भनाइ थियो ।
छलफलमा डीएलएफकी डेपुटी जनरल म्यानेजर (डीजीएम) प्रियंका ओझाले सीमावर्ती क्षेत्रको सहर भैरहवा र आसपास लगानीको ठूलो सम्भावना देखेको बताइन् । आफ्नो कम्पनीले अहिले उत्तर प्रदेश र बिहारका सहरमा लगानी बढाइरहेको जनाउँदै नेपालमा पनि सम्भावना पहिल्याएर लगानीका क्षेत्रमा लामो सहकार्य गर्न डीएलएफ तयार रहेको उनको भनाइ थियो । उनका अनुसार डीएलएफ कम्पनीले भारतमा ७८ वर्षदेखि रियलस्टेट क्षेत्रमा लगानी गरिरहेको छ ।
‘डीएलएफले घर मात्र बनाउँदैन,’ उनले भनिन्, ‘एउटा परिवारका लागि एउटै परिसरमा आवश्यक इकोसिष्टम नै तयार गर्छौं ।’ घर खरिद गरेपछि त्यसको मर्मत र रेखदेखसँगै बिक्री गर्न चाहेको खण्डमा त्यसमा पनि सघाउने गरेको उनले बताइन् ।
डीएलएफ कम्पनीका प्रतिनिधि भुपेन्द्र आचार्यले अहिले नेपालका ६ वटा सहरमा लगानीका सम्भावनाबारे छलफल गर्न लागेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भैरहवासँगै पोखरा र चितवन पनि रहेका छन् ।
‘नेपालमा पहिलोपटक डीएलएफ कम्पनी आएको छ,’ उनले भने, ‘यो भनेको नेपालीले भारतमा र भारतीयले नेपालमा लगानी गर्ने अवसरको ढोका खोल्ने प्रयास हो ।’
घरजग्गा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज उप्रेतीले मुलुकमा सेलाएको घरजग्गा व्यवसाय उकास्ने प्रयास भइरहेका बेला भारतीय कम्पनीले लगानीका लागि चासो देखाउनु सकारात्मक भएको बताए ।
