वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी निर्यात

जेष्ठ २६, २०८२

शंकर आचार्य

88 Crores worth of Churpi exports in 10 months through Birganj route

पर्सा — वीरगन्ज नाकाबाट तेस्रो मुलुक तर्फ छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । नेपाली छुर्पीले केही वर्षयता युरोप तथा अमेरिकामा बजार लिन थालेको हो । विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली छुर्पीको माग बढेको छ ।

वीरगन्ज भन्सार कार्यकालको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म यो नाकाबाट ८८ करोड रुपैयाँ बराबरको ४ लाख ९५ हजार ६ सय ८६ किलो छुर्पी निकासी भएको छ । गत आर्थिक वर्षको यो अवधिमा ५३ करोड बराबरको २ लाख ९४ हजार २ सय १५ किलो छुर्पी निकासी भएको थियो ।

तेस्रो मुलुकका घरपालुवा कुकुर, बिरालोले नेपाली छुर्पीको स्वाद रुचाएपछि नेपाली छुर्पीको माग बढ्दै गएको हो । भन्सार बिन्दुबाट यो बस्तु ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा निकासी हुन्छ । निकासीको बढ्दो दरले नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सके यसले थप बजार पाउने सम्भावना बढी छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी यस वर्ष तुलनात्मक रूपमा वीरगन्ज नाकाबाट छुर्पीको निकासी बढेको बताउँछन् । कुकुर, बिरालो पालकले नेपाली छुर्पीलाई मासुको विकल्पको रूपमा प्रयोग गरिरहेको उनले बताए ।

चौपायाको हड्डी भन्दा छुर्पी नरम हुने र कुकुर, बिरालोले स्वादिलो मानेर खाएपछि नेपाली छुर्पीको माग तेस्रो मुलुकमा बढ्दै गएको उनले बताए । नेपालमा विशेषगरी इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायत जिल्लामा उत्पादित छुर्पी यो नाकाबाट निकासी हुने गरेको उनले बताए ।

इलाममा छुर्पी उद्योग नै सञ्चालनमा रहेकाले त्यहाँ छुर्पीको बढी उत्पादन हुने गरेको छ । छुर्पी निकासी गर्दा भन्सार शुल्क लाग्दैन । निकासीको प्रत्येक प्रज्ञापनपत्रको १ सय १३ रुपैयाँ शुल्क मात्र लाग्ने तिवारीले बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully