७७ जिल्लामा कार्यालय खोलेर खाद्य स्वच्छता कायम गर्छौं : मन्त्री अधिकारी

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

We will maintain food hygiene by opening offices in 77 districts: minister official

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ७७ वटै जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालय खोलेर खाद्य स्वच्छता कायम गर्ने बताएका छन् । यस वर्ष विभागमा २० जना कर्मचारी थप गरिएको बताउँदै मन्त्री अधिकारीले बजार अनुगमन, नियमनसँगै खाद्य वस्तुको परीक्षण गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

विश्व खाद्य स्वच्छता दिवस तथा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०८२ को अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार आयोजना गरेको कार्यक्रममा उनले वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिने समेत बताए ।

‘विभाग र विभाग मातहत कार्यालयका लागि यस वर्ष २० जना कर्मचारी थपिएको छ । ७७ वटै जिल्लामा खाद्य प्रविधिको कार्यालय सञ्चालन गर्न सके खाद्य स्वच्छता कायम गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालय प्रयासरत छ । अहिले पनि दूध र पानीलगायत खाद्य वस्तुमा कैफियतको गुनासो आउने गरेको छ । यसको नियमित परीक्षण गर्न जरुरी छ ।’ उनले खाद्य सामग्रीको परीक्षण र नेपालका सबै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाइने समेत दाबी गरे ।

उनले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ जाँच र नियमन गर्न यसै मोबाइल ल्याब भ्यान परिचालन गरिएको बताए । ‘चालु आवमा मोबाइल ल्याब, भ्यान परिचालन गरी बजार तथा उद्योगको अनुगमन गरी अन द स्पट जाँच परीक्षण गरिरहेका छौं,’ उनले भने ,‘यसले उपभोक्तामा सकारात्मक सन्देशसँगै नियमनमा प्रभावकारिता पनि देखिएको छ ।’

दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउन राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको बताए । राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ अनुसारको परिषद् गठनका लागि गृहकार्य भइरहेको उनले जनाए ।

मन्त्रालयका कृषि सचिव गोविन्दप्रसाद शर्मा र पशु विकास सचिव डा दीपककुमार खरालले सबै पक्षले आफ्नो भूमिका निर्वाह गरे स्वच्छता कायम गर्न सकिने जनाए । खाद्य स्वच्छता र गुण नियन्त्रणका लागि मन्त्रालयबाट नियमित रुपमा काम भइराखेको उनीहरुले जनाए । ‘उपभोक्ता, व्यवसायीदेखि खाद्य प्रविधि विभागले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निवार्ह गर्रौं,’ सचिव शर्माले भने, ‘ सरकारले पनि आफ्नो जिम्मेवारी पूरा गर्छ । खाद्य स्वच्छताका लागि कुनै कसर बाँकी राख्दैन ।’

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्वमा खाद्यवस्तुबाटै २०० प्रकारका रोग लाग्ने गरेकाले खाद्य स्वच्छता कायम गरेर धेरै रोग नियन्त्रण गर्न सकिने बताए । त्यसका लागि विभागअन्तर्गत ३० जिल्लामा रहेका ४३ कार्यालयका करिब ३७५ जनशक्तिले नियमित खाद्य स्वच्छता कायम गराउन काम गरिरहेको दाबी गरे ।

कान्तिपुर

Link copied successfully