सातामै ५२ अंकले घट्यो नेप्से, कुल २९ अर्ब ४ करोड रुपैयाँ कारोबार हुँदा जलविद्युत् कम्पनीको १४ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार
काठमाडौँ — गत साता सेयर कारोबार मापक नेप्से परिसूचक ५२.१ अंकले घटेको छ । अघिल्लो साता २ हजार ६ सय ९३.०६ बिन्दुमा रहेको नेप्से गत साता घटेर २ हजार ६ सय ४०.९६ बिन्दुमा ओर्लिएको छ । आइतबार सार्वजनिक बिदा भएकाले गत साता चार दिन मात्रै कारोबार भएको थियो । गत साता सोमबार मात्रै १.६० अंकले बढ्यो । तर, गत मंगलबार ३५.७३, बुधबार ११.९७ र बिहीबार ५.९९ अंकले घटेको हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकद्वारा सेयर कर्जाको जोखिम भार कम घटाएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको यो क्षेत्रमा कर्जा विस्तार क्षमता बढ्ने भएकाले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा थियो । तर, हरेक दिनजसो सेयर बजार घटिरहेको छ । उता राष्ट्र बैंकको तथ्यांकले सेयर धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा बढेको देखाएको छ । सामान्यतः यो कर्जा बढ्दा सेयर बजार पनि बढ्नुपर्ने हो । तर, सेयर बजार बढ्न सकेको छैन । यसले सेयर धितोमा प्रवाह भएको कर्जा अन्यन्त्र क्षेत्रमा लगानी भएको हुन सक्ने आशंका रहेको सेयर ब्रोकरहरू बताउँछन् ।
उक्त साता २ लाख ९५ हजार ३ सय २४ पटकको सेयर किनबेचबाट २९ अर्ब ४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साता ६ करोड ८४ लाख ६१ हजार ६ सय १२ कित्ता सेयर किनबेच भयो । गत साता सबैभन्दा बढी सोमबार ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । गत बिहीबार २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता सेयर किनबेच भयो । गत मंगलबार १ करोड ५५ लाख ३८ हजार ४ सय ७४ कित्ता किनबेचबाट ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
गत बुधबार १ करोड ३७ लाख ८२ हजार ४ सय ६८ किता सेयर खरिदबिक्रीबाट ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै गत बिहीबार १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर किनबेचबाट ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साता सामूहिक लगानी कोष ०.० ५ अंक र लगानी १.०२ अंकले बढ्यो । अन्य सबै उपसमूह घट्यो । उत्पादन तथा प्रशोधन १०७.५७ अंकले घटेको छ । अघिल्लो बिहीबार ७ हजार २ सय ८६.२२ अंकमा बन्द भएको नेप्से गत बिहीबार ७१७८.६५ बिन्दुमा बन्द भएको थियो । गत साता होटल तथा पर्यटन ४९.९६, जीवन बिमा २०४.४९, व्यापार ९०.१९ र निर्जीवन बिमा २०४.९७ अंकले घटेको छ । हाइड्रोपावर २०.२३, विकास बैंक १०२.७४ , फाइनान्स ४४.२८, अन्य ४२.८४ , लघुवित्त १२६.१२, बैकिङ ५५.८२ घट्यो ।
अघिल्ला साताजस्तै गत साता पनि सेयर कारोबारमा जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । साताको कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको हिस्सा कुल ५० प्रतिशत हुनुले यसको पुष्टि गर्छ । कुल २९ अर्ब ४ करोड रुपैयाँ कारोबार हुँदा जलविद्युत् कम्पनीको १४ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो कुल कारोबारको ५०.०१ प्रतिशत हो ।
साप्ताहिक कुल कारोबारमा बिमा र बैंक तथा वित्तीय संस्थाको हिस्सा साढे २७ प्रतिशत हुन आउँछ । तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी क्षेत्रका कम्पनीको सेयर बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, जीवन बिमा र निर्जीवन बिमा गरी छुट्टाछुट्टै उपसमूहमा सूचीकृत गरिएको छ । गत साताको कुल कारोबारमा यी सबै उपसमूहको कारोबार रकम जोड्दा २७.५८ प्रतिशत हुन आउँछ । यो पछिल्ला वर्षमा सेयर बजारमा वित्तीय र बिमा क्षेत्रको प्रभुत्व घट्दै र जलविद्युत् क्षेत्रको बढ्दै गएको संकेत भएको जानकार बताउँछन् ।
