नेप्से घट्यो, जलविद्युत्‌‌मा आकर्षण

नेप्से शून्य दशमलव २२ प्रतिशतले घटेर २ हजार ६ सय ४० दशमलव ९६ बिन्दुमा

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

NEPSE declines, attraction in hydropower

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.९९ अंकले घटेको छ । यस दिन शून्य दशमलव २२ प्रतिशतले घटेर २ हजार ६ सय ४० दशमलव ९६ बिन्दुमा ओर्लिएको छ । गत सोमबार एक दशमलव ६० अंकले बढेको नेप्से मंगलबार ३५.७३ र बुधबार ११.९७ अंकले घटेको थियो । नेप्से घट्ने क्रम साताको अन्तिम कारोबार दिन बिहीबार पनि जारी नै रह्यो ।

बिहीबार कुल ९४ कम्पनीको सेयर मूल्य बढ्यो, १५३ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको स्थिर रह्यो । नेप्सेका अनुसार ७७ हजार ६ सय ७० पटकको किनबेचबाट ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर किनबेच भए ।

नेप्से घटेसँगै तीन कारोबार दिनमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ८८ अर्ब ८८ करोड ७८ लाख रुपैयाँले संकुचन आएको छ  । अघिल्लो दिन सोमबार ४४ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४३ खर्ब ९९ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ । 

जलविद्युत् र लगानीबाहेक सबै उपसमूह घट्यो । जलविद्युत् ३८.८५ र लगानी शून्य दशमलव शून्य ४ अंकले बढ्यो । उत्पादन तथा प्रशोधन ७५.६५, जीवन बिमा ७३.३६, व्यापार ३६.६३ र होटल तथा पर्यटन भने ३२.८० अंकले घटेका छन् ।

रिभर फल्स पावर लिमिटेडको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । बुटवल पावर कम्पनीको ९.९८, पियोर इनर्जीको ९.९८, वरुण हाइड्रोपावरको ९.९६ र सप्तकोशी विकास बैंकको ९.५० प्रतिशतले सेयर मूल्य बढ्यो । ओम मेगाश्री फर्मास्युटिकल्सको ९.३०, ग्रिन डेभलपमेन्ट बैंकको ३.९०, एनएमबी ५० को ३.६७, सुपर माई हाइड्रोपावरको ३.५५ र जनउत्थान सामुदायिक लघुवित्तको ३.४७ प्रतिशतले सेयर मूल्य घट्यो ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, बुटवल पावर कम्पनी, ङादी ग्रुप पावर र अरुण काबेली पावर अघि रह्यो । राधी विद्युत् कम्पनीको ९१ करोड २३ लाख, युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख, बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख, ङादी ग्रुप पावरको ४३ करोड ३५ लाख र अरुण काबेली पावरको २९ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

युनिभर्सल पावर कम्पनीको सबैभन्दा धेरै कित्ता सेयर खरिदबिक्री भएको छ । युनिभर्सल पावर कम्पनीको १४ लाख ५ हजार ४ सय ५ कित्ता, राधी विद्युत् कम्पनीको ११ लाख १९ हजार १ सय १३, ङादी ग्रुप पावरको ११ लाख १२ हजार २ सय ५९, अरुण काबेली पावरको १० लाख ५७ हजार २ सय ८५ र बुटवल पावर कम्पनीको ८ लाख ९ हजार २ सय ५१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully