सरकारले तयारी वस्तुमा शून्य भन्सार र कच्चापदार्थमा १५ प्रतिशत भन्सार शुल्कसहित थप १५ प्रतिशत उपभोग कर लगाउँदा स्वदेशी उत्पादनको लागत चुलिएको उद्योगीको दाबी
विराटनगर — मुलुकभर सञ्चालनमा रहेका स्विच र सकेट उत्पादन गर्ने ५० भन्दा बढी उद्योग बन्द हुने संघारमा पुगेका छन् । सरकारले तयारी वस्तुमा शून्य भन्सार (कस्टम ड्युटी) कायम राखेका कारण र कच्चापदार्थमा १५ प्रतिशत भन्सार शुल्कसहित थप १५ प्रतिशत उपभोग कर (एक्साइज ड्युटी) लगाएकाले स्वदेशी उत्पादनको लागत अत्यधिक भएको उद्योगीहरूको गुनासो छ ।
उत्पादन खर्च बढ्दा बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
चीन र भारतबाट आयातित तयारी स्विच–सकेट तुलनात्मक रूपमा सस्तो पर्दै आएको उद्योगी बताउँछन् । भारतबाट वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी र चीनबाट ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्विच–सकेट आयात भइरहेका छन् । यही कारणले गर्दा स्वदेशी उत्पादन बजार प्रतिस्पर्धाबाट क्रमशः बाहिरिँदै गएको छ । स्वदेशमै उत्पादन गर्दा कच्चापदार्थमा ३० प्रतिशतभन्दा बढी कर तिर्नुपर्ने बाध्यता छ, जब कि तयारी सामग्री आयात गर्दा भन्सार शुल्क नै नलाग्ने व्यवस्था छ ।
असमान कर संरचनाका कारण स्वदेशी उद्योगहरू बन्द हुने संकटमा परेका हुन् । ‘हालसम्म झन्डै ५० वटा उद्योग बन्द हुने स्थितिमा पुगिसकेका छन् । उत्पादन घट्दो छ, बजार गुम्दै छ र कामदारहरूलाई हटाउनुपर्ने अवस्था आउँदै छ,’ अन्नपूर्ण इलेक्ट्रिक्सका सञ्चालक तथा उद्योगी अरुण राठी भन्छन्, ‘करिब ५ हजारभन्दा बढी मजदुर र कर्मचारी बेरोजगार हुने खतरा बढेको छ ।’
एकातिर सरकारले ‘नेपालमै उत्पादन गरौं’ भन्ने नारा दिन्छ, अर्कोतिर स्वदेशी उत्पादनमै बाधा पुर्याउने किसिमको कर संरचना बनाएको उद्योगीहरूको गुनासो छ । स्वदेशी उद्योगलाई जोगाउनुपर्ने माग राख्दै बजेट आउनुअघि नै उद्योगीहरूले अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडासित भेट गरीसमस्या अवगत गराएका थिए । ‘उहाँहरूले आवश्यक सुधार गर्ने आश्वासन पनि दिनुभएको थियो,’, राठी भन्छन्, ‘तर बजेटले फेरि पनि हामीलाई निराश पार्यो ।’
