६ अर्ब ६७ करोड ९५ लाखको कारोबार
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३५.७३ अंकले घटेको छ । नेप्से एक दशमलव ३२ प्रतिशतले घटेर २ हजार ६ सय ५८.९३ विन्दुमा बन्द भएको छ । कुल ३४ कम्पनीको सेयर मूल्य बढ्यो भने २ सय १४ कम्पनीको मूल्य घट्यो । नेप्सेका अनुसार ७५ हजार ५०८ पटकको किनबेचबाट ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भए ।
नेप्से अघिल्ला तीन कारोबार दिन सकारात्मक अवस्थामा बन्द भएको थियो । मंगलबार भने सबै उपसमूह घटे । होटल तथा पर्यटन १४७.४४, जीवन बिमा ९८.८७, निर्जीवन बिमा ८५.०९ र लघुवित्त ६१.३४ अंकले घट्यो । पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । ओम मेगाश्री फर्मासिटिकल्सको ९.९४, उपकार लघुवित्तको ५.५८, नारायणी विकास बैंकको ३.०३, प्रभु स्मार्ट फन्डको २.९५ प्रतिशतले सेयर मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंकको ४.३८, बाराही हाइड्रोपावर (पब्लिक) को ३.९९, प्राइम कमर्सियल बैंकको ३.९५, लक्ष्मी सनराइज बैंकको ३.८८, सूर्यदाय वमी लघुवित्तको ३.८६ प्रतिशतले सेयर मूल्य घट्यो । नेप्से घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ५९ अर्ब ४९ करोड ८४ लाख रुपैयाँले संकुचन आएको छ ।
अघिल्लो दिन सोमबार ४४ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४४ खर्ब २८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, ओम मेगाश्री फर्मासिटिकल्स र बुटवल पावर कम्पनी अघि रहे । राधी विद्युत् कम्पनीको ६० करोड १५ लाख, युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख, ङादी ग्रुप पावरको ४० करोड ३० लाख, ओम मेगाश्री फर्मासिटिकल्सको २८ करोड ३३ लाख र बुटवल पावर कम्पनीको २० करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
