समावेशी श्रम बजारलाई प्राथमिकतामा राखेको छ : नेपाल

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Inclusive labor market is prioritized: Nepal

काठमाडौँ — नेपालले समावेशी श्रम बजार बनाउने गरी श्रमनीतिलाई प्राथमिकतामा दिई कार्यान्वयन गर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रतिबद्धता जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कुष्णहरि पुष्करले जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११३ औं सत्रमा मंगलबार नेपालको तर्फबाट प्रस्तुत गर्दै समावेशी श्रम बजार बनाउने नीतिहरुको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको हो । ‘नेपालले अनौपचारिक श्रम बजारलाई पूर्णरुपमा औपचारिक लैजाने नीति र नियमलाई प्राथमिकता दिइएको छ । यो हाम्रो राष्ट्रिय प्राथमिकताभित्र पर्छ,’ उनले सम्मेलनमा भने,‘अहिले समावेशी श्रम बजार नीतिहरूको प्रवर्द्धन, सामाजिक सुरक्षाको दायरा विस्तार र त्रिपक्षीय संवादको सुदृढीकरण भइरहेको छ ।’

समावेशी र न्यायपूर्ण श्रम बजार बनाउन योगदानमा आधारित सामाजिक सुरक्षाको दायराभित्र औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई समेटिएको उनले बनाए । ‘समावेशी श्रम बजारको प्रवर्द्धनका लागि हामी द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहकार्य गर्न तयार छौं । यसमा सबैको समर्थन र अर्थपूर्ण सहयोगको खाँचो छ,’ उनले भने, ‘सामाजिक न्याय र दिगो आर्थिक रूपान्तरणको हाम्रो साझा उद्देश्यहरू प्राप्त गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक छ ।’

जुन २ देखि १३ सम्म जेनेभामा जारी रहने सम्मेलनमा नेपालसहित एक सय ८७ देशका सरकार, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहभागिता छ । नेपाल आइएलओको 'गभर्निङ बडी'मा सरकारको तर्फबाट निर्वाचित सदस्य राष्ट्र हो । सम्मेलनमा श्रमको संसारमा दीर्घकालीन प्रभाव पार्ने विस्तृत दायराका मुद्दाको कार्यसूचीमाथि छलफल भइरहेको छ । जसमा कार्यस्थलमा पर्ने जैविक जोखिमलाई न्यूनीकरण गर्ने प्रस्तावित मापदण्ड, डिजिटल प्लाटफर्मको नेटवर्कबाट हुने श्रमको मानक निर्धारण, आइएलओको वार्षिक बजेट र कार्यक्रम औपचारिकता र उचित श्रम संक्रमणसम्बन्धी नवीन दृष्टिकोण, अन्तर्राष्ट्रिय श्रम मापदण्डको अवस्था, सामाजिक विकास शिखर सम्मेलन र समुद्री श्रमसँग सम्बन्धी विषयहरु रहेका छन् ।

कान्तिपुर

Link copied successfully