सुदूरपश्चिमको आर्थिक सम्भावना उजागर गर्दै एडीबीको पर्यटन अध्ययन सार्वजनिक

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

ADB's tourism study, highlighting the economic potential of the Far West, has been released

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न सुझाव दिएको छ ।सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटन विकास अध्ययनमा आधारित सुझाव पर्यटन परामर्श गोष्ठी एवं लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा प्रस्तुत गरिएको हो ।

राजदूतहरू, विकास साझेदार संस्थाका प्रमुखहरु, संघीय र प्रदेश सरकारका प्रतिनिधि तथा निजी क्षेत्रका अगुवाहरूको उपस्थितिमा बुधबार सुदूरपश्चिम क्षेत्रको लगानी अवसरबारे धनगढीमा कार्यक्रम सम्पन्न भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा एडीबीले उक्त अध्ययन सम्पन्न गर्नुका साथै  सन् २०२२ को प्रदेश पर्यटन गुरुयोजना निर्माण गरेको हो ।

‘यस प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम छन्, तर पर्यटनको सम्भावना अझैसम्म पूर्ण रूपमा उपयोग भएको छैन,’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘अध्ययनले कनेक्टिविटी (यातायात सञ्जाल), पर्यटकीय गन्तव्यहरू र जनशक्ति क्षमताको विकास लक्षित लगानीद्वारा सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएको छ । यो सोच/दृष्टिकोणलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्दछौं ।’

अध्ययनले पहुाच अभिवृद्धि गर्न र देशमा भित्रिएका पर्यटकको सन्तुलित वितरण सुनिश्चित गर्न उन्नत पूर्वाधार विकासको आवश्यकता औंल्याएको छ । साथै, अध्ययनले समग्र पर्यटन सर्किट र वातावरणमैत्री (पर्यटकीय) गन्तव्यहरूको विकास, सुशासन, दक्ष जनशक्ति विकास र निजी लगानी आकर्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।

‘हामीले सुदूरपश्चिमको पर्यटन विकास गर्दा यसको प्राकृतिक सुन्दरता र वातावरणको संरक्षण आगामी पुस्ताका लागि कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ,’ कोश्वाले भने ।  

कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा देउवा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी थिए ।

एडीबी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । यसका सदस्य र साझेदारहरूसाग जटिल चुनौती समाधानका लागि आपसमा काम गरिरहेको एडीबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय औजार एवं रणनीतिक साझेदारीको उपयोग/परिचालन गर्दछ । सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्यको स्वामित्व रहेको छ र तीमध्ये ५० एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन् ।

कान्तिपुर

Link copied successfully