नेप्सेमा झिनो अंकको सुधार, सवा ९ अर्बको सेयर किनबेच

सुरुमा बजार उकालो लागे पनि मध्याह्नदेखि अन्तिम समयसम्मै घटेर बन्द भयो नेप्से

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

A slight improvement in NEPSE, buying and selling shares worth 9 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले बढेको छ । आइतबार सार्वजनिक बिदा भएकाले सोमबारदेखि मात्र सेयर बजार खुलेको थियो । गत साताको अन्तिम कारोबार दिन (गत बुधबार) करिब साढे १७ अंकले बढेको नेप्से सोमबार पनि बढ्ने अपेक्षा लगानीकर्ताको थियो । तर, नेप्से अपेक्षाकृत रूपमा बढ्न सकेन । जसअनुसार १.६० अंकले बढेर नेप्से २ हजार ६ सय ९४.६६ बिन्दुमा बन्द भएको हो ।

यस दिन कुल ११५ कम्पनीको सेयर मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । सो दिन कुल ८३ हजार १६ पटकको कारोबारबाट ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

सो दिन कारोबारमा आएका कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, फाइनान्स, विकास बैंक, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष र अन्यको परिसूचक बढे । बाँकी उपसमूह घटे । सो दिन होटल तथा पर्यटन १६२.४०, फाइनान्स ४.३२, विकास बैंक १६.६४, लगानी २.५३, जीवन बिमा ३१.२४, अन्य ८.६३ अंक र सामूहिक लगानी कोष ०.०१ प्रतिशतले बढ्यो । उत्पादन तथा प्रशोधन २८.२३, निर्जीवन बिमा २०.८७, व्यापार १५.३२, जलविद्युत् १२.२३, लघुवित्त ६.१९ र बैंकिङ ८.५० अंकले घटेको नेप्सेले जनाएको छ । सोमबार ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढ्दा कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकर लगाउनुपरेको थियो । 

यस्तै, सप्तकोशी विकास बैंकको ८.३१, न्यादी हाइड्रोपावरको ७.२७ र कर्पोरेट विकास बैंकको सेयर मूल्य ६.३५ प्रतिशतले बढ्यो । तर, भूगोल इनर्जी विकास कम्पनीको ६.४५, बोटलर्स नेपाल (बालाजु) को ३.२०, विन नेपाल लघुवित्तको ३.०४, माथिल्लो हेवाखोला जलविद्युत्को २.९८ र आरबीबी सामूहिक लगानी कोष–२ को २.८७ प्रतिशतले सेयर मूल्य घटे ।

कारोबार रकमको आधारमा ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र बुटवल पावर कम्पनी अघि रह्यो । 

ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख, राधी विद्युत् कम्पनीको ६५ करोड २ लाख, युनिभर्सल पावर कम्पनीको ५४ करोड १९ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ३७ करोड २९ लाख र बुटवल पावर कम्पनीको ३४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

कान्तिपुर

Link copied successfully