तातोपानी बजारमा २८ वर्षपछि कालोपत्र

भूकम्प, भोटेकोशी बाढीपहिरो र बर्खे विपद्ले बजार क्षेत्रको सडक क्षतिग्रस्त थियो

जेष्ठ १९, २०८२

अनिश तिवारी

Black paper after 28 years in Tatopani Bazar

सिन्धुपाल्चोक — चीन जोड्ने तातोपानी नाकाको बजार क्षेत्रमा अहिले कालोपत्रका लागि धमाधम काम हुँदै छ । सडक डिभिजन कार्यालयको बजेटमा झन्डै २८ वर्षपछि बल्ल कालोपत्र हुन लागेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जनाए । ‘भूकम्प, भोटेकोशी बाढीपहिरो र बर्खे विपद्ले बजार क्षेत्रको सडक क्षतिग्रस्त बनेको थियो,’ उनले भने । २०५४ मा कालोपत्र गरिएको यहाँको सडक बीचमा मर्मतसम्भार गरिए पनि कालोपत्र हुन सकेको थिएन ।

२०७२ को भूकम्प, २०७३ मा भोटेकोशी बाढी र त्यसपछिका लगातार बर्खे पहिरोपछि खण्डहर बनेका घरसँगै सडक क्षतविक्षत अवस्थामा थिए । यसअघि वारि जताततै क्षतिग्रस्त घर र सुनसान, पारि झिलिमिली बजार अनि धमाधम काम देख्दा अन्तर्राष्ट्रिय नाकामा पुग्ने जोकोही अचम्मित हुन्थे । त्यो अवस्था अहिले बदलिएको छ । 

नाका खुलेयता वारि लिपिङमा बजार छ भने पारि झाङ्ममुमा बजार छ । लार्चा पुलबाट तातोपानी धारा कोप्लाङसम्म र कोदारी बजार झन्डै २ किलोमिटरमा काम भइरहेको छ । वारि पनि कालोपत्र र धमाधम पुनर्निर्माणका काम भइरहेका छन् । एक करोड ५० लाख लागतमा रावण कन्स्ट्रक्सन कम्पनीले र संगम कन्स्ट्रक्सनले करिब एक करोडमा बजार भेगमा कालोपत्र र मर्मर्तसम्भारका काम गरिरहेको सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले जनाए । 

वैशाखयता तातोपानी, चाकु, कोदारीमा रावण र सुक्खा बन्दरगाह क्षेत्र लार्चा, हिन्दी बजारमा संगम कन्स्ट्रक्सनले कालोपत्रका लागि काम लगभग अन्तिम चरणमा पुर्‍याएका छन् । ‘उता कालोपत्रको काम थालेको छ, यही महिनामा कालोपत्र सक्ने लक्ष्य राखेर यहाँ हाल धमाधम बेस ओछ्याउने काम गरिँदै छ,’ इन्जिनियर महर्जनले भने । 

यसअघि बाह्रबिसे–तातोपानी सडक खण्ड (२६ किलोमिटर) को भोटेकोशी गाउँपालिका–२ कोप्लाङमा १५ फिट भास्सिएर अवरुद्ध सडकका कारण नाका बन्द थियो । अहिले त्यहाँ मर्मतसम्भार गरेर सहज यातायात बनाइएको छ । करिब दुई करोडमा तलबाट पर्खाल लगाउने र अन्य सडक पुनर्निर्माणको काम भइरहेको छ । उता चीनले खासामा स्मार्ट सिटी बनाउन पुनर्निर्माण र सुरुङ बनाउने काम गरिरहेको छ । 

दस वर्षअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा गएका बेला १४ चैत ०७१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले ९० करोड चिनियाँ मुद्रा (१६ अर्ब २० करोड रुपैयाँ) अनुदान घोषणा गरेका थिए । यो रकमले कोदारी राजमार्ग मात्र नभएर पूरै अरनिको राजमार्ग मर्मत गर्ने सहमति भएको थियो । तर उता अरनिको मर्मतका नाममा तीन चरणमा चीनले करिब १० अर्ब खर्च गरिसकेको जानकारी अर्थ मन्त्रालयमा दिएको छ ।

चिनियाँ अनुदान १० अर्बमा कोदारी राजमार्ग मर्मतसम्भार र कालोपत्रको जिम्मा चिनियाँ कम्पनी चाइना रेलवे (फोर्थ) कन्स्ट्रक्सन ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले पाएको थियो । उक्त अनुदानमा चिनियाँ ठेकेदारबाट के कसरी, कति, कहाँ काम भयो भन्ने कतै जानकारी छैन । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully