सुनकोशी-मरिण डाइभर्सन : बर्खामा तीव्र, हिउँदमा सुस्त 

जेष्ठ १८, २०८२

राजकुमार कार्की

Sunkoshi-Marin Diversion: Fast in monsoon, slow in winter

खुर्कोट(सिन्धुली) —  राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध निर्माणको काम बर्खा लागेपछि तीव्र गतिमा हुने गर्छ । तर यही काम हिउँदमा भने सुस्त देखिन्छ । सुनकोशीमा बाढी आएर काम रोकिने बेलामा रफ्तारमा भएको कामले प्रगति नहुने गत वर्षकै अनुभव छ ।

बाढीले ढलान गरेको संरचना पुर्ने र भत्काउने भएकाले असारदेखि असोजसम्म नै काम हुँदैन । आयोजनाअन्तर्गत बाँध निर्माणको काम सुस्त गतिमा भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहितको टोलीले आइतबार स्थलगत अनुगमन गरी निर्माण कम्पनीलाई काम तीव्र गतिमा नबढाए ठेक्का तोड्नेसमेत चेतावनी दिएको छ । त्यति मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आइतबार दिउँसो जनकपुरको एक कार्यक्रममा सरकारले डाइभर्सनको ठेक्का तोड्न सक्ने चेतावनी दिए ।

बाँध निर्माण र विद्युत् उत्पादन गृह ठेक्का सम्झौता अवधिको ४५ प्रतिशत समय पूरा भइसक्दा पनि प्रगति भने ७ प्रतिशतभन्दा उकालो लाग्न सकेको छैन । मन्त्रालयस्तरमा भएको ब्रिफिङभन्दा आयोजनाको बाँध निर्माणस्थलमा हाल भएको काम हेर्दा आशा गर्ने केही ठाउँ रहे पनि अझै रफ्तार बढाउन मन्त्री खड्काले निर्माण कम्पनीलाई सुझाए ।

Sunkoshi-Marin Diversion: Fast in monsoon, slow in winterठेक्का तोड्ने मनस्थिति बनाएर ठेकेदार कम्पनीबाट ६० करोडको हाराहारीमा मोबिलाइजेसन रकम तान्ने कामसमेत भएको र हाल भने कामको गतप केही बढेकाले आशा नमरेको टोलीको ठहर छ । यो अवधिमा बाँध निर्माणको प्रगति ३० प्रतिशतभन्दा माथि नै हुनुपर्ने प्राविधिक पक्षको भनाइ छ ।

पटेल–रमण जेभीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी २०७९ साल माघमा सम्झौता गरी काम अघि बढाएकोमा अहिलेसम्म करिब सात प्रतिशत हाराहारीमा मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । तोकिएको समयमा काम सम्पन्न गर्नका लागि दैनिक पाँच सय तीन क्युबिक मिटर ढलानको काम हुनुपर्नेमा हाल सय पनि नभएको गुनासो छ ।

Sunkoshi-Marin Diversion: Fast in monsoon, slow in winterतर निर्माण कम्पनीले दैनिक ३५० क्युबिक मिटर जमिनमुनिको ढलान भइरहेको दाबी गरेको छ । निर्माण कम्पनी रमण कन्ट्रक्सनका रमण महत्तोले मोबिलाइजेसन रकम तान्नु, एक प्रतिशत पुगेन भनेर पैसा अड्काउने जस्ता काम आयोजनाबाट भएकाले काममा ढिलाइ भएको मन्त्रीसमक्ष गुनासो पोखेका थिए । 

पटेल–रमण जेभीले बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ । सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र  १ सय ५८ मिटर  लामो बाँध निर्माण भएपछि १३ दशमलव तीन किलोमिटर लम्बाएको सुरुङमार्फत कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ ।त्यहाँबाट ६६ दशमलव २९ मिटर हेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

Sunkoshi-Marin Diversion: Fast in monsoon, slow in winter आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully