६ पहिरन समावेश ‘सोरेल’ लाई ६ महिलाको नामसँगै सार्वजनिक
काठमाडौँ — युवा डिजाइनर वरदान देवकोटाले क्लोदिङ ब्रान्ड ‘भामा’ कलेक्सनमा नयाँ डिजाइन थपेका छन् । शनिबार नेपाल आर्ट काउन्सिलमा वरदानले कपडाहरूको नयाँ कलेक्सन ‘सोरेल’ सार्वजनिक गरेका हुन् ।
६ पहिरन समावेश ‘सोरेल’ लाई ६ महिलाको नाम (सुमी देवकोटा, स्नेहा राणा, डा. अर्पना शाह, डा. स्मृति मास्के, नामग्याल सिंह, इना श्रेष्ठ) सँगै बजारमा ल्याइएको हो ।
६ महिनाअघि ‘लन्डन कलेज अफ फेसन’ बाट डिग्री हासिल गरेसँगै वरदानले ‘सोरेल’ को डिजाइनिङ थालेका थिए । आफूलाई प्रभावित गर्ने ६ महिलाको नाममा यो कलेक्सन समर्पित रहेको उनले बताए ।
‘सोरेलको कलेक्सनलाई ६ महिलाको नाम दिनु पछाडि उनीहरूको अस्तित्व नै हो । यी ६ महिलाका आफ्नै कथा र इतिहास छन् । हुर्कँदै गर्दा हाम्रा वरपर थुप्रै महिला देख्यौं तर उहाँहरूको कथा हामीलाई कहिल्यै थाहा भएन,’ वरदानले भने, ‘त्यसैले यी महिलाका अस्तित्व र उहाँहरूको योगदानका लागि सोरेल डिजाइन गरें ।’ शनिबार नयाँ कलेक्सन सार्वजनिक गरिरहँदा ६ महिला नै स्टेजमा वरदानसँग उभिएका थिए । स्क्रिनमा उनीहरूले वरदानको नयाँ कलेक्सन पहिरिएको भिडियो पनि सार्वजनिक गरिएको थियो ।
‘इना सेट’ सेतो रङको कुर्ता हो । जसमा टाँकको सुन्दर प्रयोग छ । हेर्दा सामान्य देखिए पनि यसको सौन्दर्यले नै यो पहिरनलाई सुन्दर बनाएको वरदानले बताए । स्नेहा राणामा समर्पित हरियो रङको लुगा जयपुरी फ्लोरल प्याटर्नमा बनेको कुर्ती हो ।
यसलाई ‘स्नेही सेट’ को रूपमा सार्वजनिक गरिएको छ । यो पहिरनलाई गर्मी र जाडो दुवै याम लक्षित गर्दै डिजाइन गरिएको वरदानले सुनाए । डा.स्मृति मास्के सेटको सौन्दर्य यसको पृथकता नै हो । ‘यो पहिरन लगाउन सहज छ, यसलाई अफिसदेखि घरमा बस्दा पनि लगाउन मिल्छ,’ वरदानले भने, ‘यो पहिरनलाई मज्जाले हेर्ने हो भने, यसमा पनि टाँकहरूको संयोजन सुन्दर देखिन्छ ।’
वरदानकी आमा सुमी देवकोटाको नाममा गुलाबी रङको पहिरन छ । उनी गुलाबी रङ मन पराउँछिन्, त्यसैले वरदानले यो कलेक्सनलाई पाकिस्तानी कुर्तीसँग मिल्दोजुल्दो बनाएका हुन् । ‘यो डिजाइन पाकिस्तानी कुर्ताबाट प्रभावित छ,’ वरदानले भने । हल्का गुलाबी रङको अर्को कलेक्सनमा पनि वरदानले प्रिन्टेड डिजाइन मिसाएका छन् । ‘द अपर्ना सेट’ लाई जुत्तासँग पहिरिँदा हुने उनले बताए ।
नामग्याल सेट भने कालो रङमा बनेको थ्री पिस सेट हो । यो पहिरनमा पनि जयपुरी प्रिन्ट मिसिएको छ । टाँकहरूको सुन्दर समायोजन रहेको टपमा जयपुरी प्रिन्ट भेटिन्छ । यो सेट वरदानको प्रयोगले भरिएको पहिरन हो । ‘धेरैले यो सेटलाई मनपराइदिनुभएको छ । म खुसी छु,’ उनले भने ।
वरदानले ४ वर्षको फेसन डिजाइन करिअरमा थुप्रै कलेक्सन सार्वजनिक गरिसके । यसअघि ‘क्याप्सिल’ मा आफूसँग भएको केही पहिरनलाई फरक तरिकाले प्रयोग गरे त्यो दिगो हुन्छ भन्ने सोचसहित कलेक्सन सार्वजनिक गरिएको थियो ।
दोस्रो कलेक्सन युवा लक्षित गर्दै सार्वजनिक गरिएको थियो, जसमा क्रप टप र स्कर्टका कलेक्सन थिए । ‘मलाई लाग्छ, नेपाली फेसन विश्वमा पुग्नुपर्छ । त्यसका लागि म जे गर्न पनि तयार छु,’ २४ वर्षे वरदानले बताए ।
