सुदूरपश्चिमका पुरानै योजनालाई निरन्तरता, नयाँ आयोजना शुन्य

जेष्ठ १६, २०८२

अर्जुन शाह

Continuation of the old plan of the Far West, zero new projects

धनगढी — संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बिहीबार प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा सुदूरपश्चिम  प्रदेशअन्तर्गत सञ्चालन हुने अधिकांश विकास आयोजनामा बजेट अंक किटान गरिएको छैन। सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गर्दा सुदूरपश्चिममा भने नयाँ आयोजनाको नाम भेटिँदैन।

त्यसैमा अधिकांश पुराना योजनालाई नै निरन्तरता दिइएको छ । त्यो पनि बजेट रकम उल्लेख नगरीकनै । 

सुदूरपश्चिमको बहुप्रतिक्षित आयोजना कैलालीको गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट वक्तव्यमा रकम उल्लेख गरिएको छैन । गेटाका सन्दर्भमा रकम उल्लेख नगरी ‘आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइने छ’ भन्ने उल्लेख गरिएको छ । 

यस्तै, सुदूरपश्चिमको साविक सेती अञ्चलका पहाडी जिल्लालाई तराई धनगढीसँग जोड्ने बहुप्रतिक्षित खुटिया–दिपायल द्रुत मार्ग निर्माण पनि यस प्रदेशको अर्को प्राथमिकताको आयोजना हो । उक्त आयोजनामा पनि ‘बजेट विनियोजन गरिएको छ,’ भन्ने वाक्य राखिएको भए पनि रकमको अंक किटान छैन । 

अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डब्बल लेनमा स्तरोन्नति गर्ने कार्य सुरु गरिने छ भनिएको छ । तर बजेटको अंक उल्लेख छैन । महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी सडक खण्डको स्तरोन्नति र तुसारपानी–टिंकर खण्डको ट्र्याक खोल्न आवश्यक बजेट विनियोजन गरिएको उल्लेख छ।

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने छ भनिए पनि बजेटको अंक उल्लेख छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार उक्त खण्डको निर्माण कार्य गर्न करिब चार अर्ब बजेट आवश्यक हुनेछ । 

पञ्चेश्वर अयोजनाको डीपीआर सम्पन्न गरी निर्माण कार्य बढाउने बजेट वक्तव्यमा उल्लेख भए पनि नेपाल–भारतबीच डीपीआरमा सहमति हुन नसक्दा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना २० वर्षदेखि अलपत्र छ । चैनपुर सेती जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने भन्ने वाक्य पनि वक्तव्यमा उल्लेख छ ।

कर्णाली बहुउद्देश्यीय आयोजनाको पनि विस्तृत अध्ययन गरिने, यस्तै, दोधारादेखि भारतको बरेलीसम्म ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने, दार्चुलाको चमेलियादेखि भारतको जोलजीबीसम्म २२० केभी अन्तरदेशीय प्रसारणलाई अध्ययन गरी निर्माण सुरु गर्ने भन्ने वाक्य राखिएको छ । आगामी तीन वर्षभित्र रानीजमरा कुलरिया सिँचाइ आयोजना र महाकाली आयोजनाको काम सम्पन्न गर्ने, डडेल्धुरामा विमानस्थल निर्माण गर्न विस्तृत अध्ययन गर्ने भनिएको छ । 

डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि पनि बजेट विनियोजन, कैलालीको धनगढीमा फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन, कञ्चनपुरको दैजीमा लगानी बोर्डमार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने, कञ्चनपुरकै दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य बढाइने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटन पूर्वाधार निर्माण, रामारोशन, बडिमालिका र बुढीनन्दामा पदमार्ग निर्माण गर्ने भनिए पनि वक्तव्यमा रकमको अंक भने उल्लेख गरिएको छैन । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा यस प्रदेशका ठुला आयोजनामा रकमको अंक उल्लेख नगरिनुले प्राथमिकता र कार्यान्वयनमा विगतझैँ आशंका भएको बताउँछन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully