बजेटप्रति लुम्बिनीका व्यवसायी सकारात्मक

जेष्ठ १६, २०८२

सन्जु पौडेल

Businessmen of Lumbini are positive about the budget

लुम्बिनी — सरकारले बिहीबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटप्रति रुपन्देहीका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले समग्रमा सुन्दा बजेट राम्रो लागेको बताए। उद्योगी व्यवसायीले साना उद्योगीलाई बैंक धरौटी राख्न नपर्ने विषय सबैभन्दा राम्रो पक्ष रहेको बताए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बजेटले उद्योगी व्यवसायीले उठान गरिरहेका विषयलाई जोड्न खोजेको देखिएको बताए ।

उनले स्थानीय आर्थिक विकासका हिसाबले बुटवल मेडिकल कलेज निर्माणका लागि बजेट सुनिश्चितता, कर्षाघाट कृषिका लागि पनि बजेट छुट्याइने, औद्योगिक क्षेत्रमा भएका उद्योगलाई भाडामा ५० प्रतिशत छुट दिने विषयले उद्योगीको हकमा राम्रो आशा जगाएको बताए ।

‘विकास बजेट खर्च नहुने रोग रहेको सरकारलाई यो प्रश्न छँदै छ,’ उनले भने, ‘त्यसको बाबजुद ३ सिफ्टमा विकास निर्माण गर्ने कुरा बजेटले गरेको आशा लाग्दो छ भन्ने लाग्छ ।’ त्यस्तै, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोख्रेलले सरकारले उद्योगी व्यवसायीको सल्लाहलाई बजेटमा समेटेको यथेष्ट विषय भेटिएको बताए । उनले बजेटले एक्जिम कोडलाई हटाउने विषय समेटेकोमा आफूहरूका लागि अति राम्रो पक्ष भएको बताए । अर्थतन्त्रको दबाबका बीचमा आएको यो बजेटलाई सकारात्मक पक्ष मान्नुपर्ने उनले बताए ।

‘बजेटको आकार हेर्दा अलि ठुलो हो कि, हामीले खर्च गर्न सकिँदैन कि भन्ने लागेको छ,’ उनले भने, ‘बजेट विनियोजन भन्दा पनि नीतिगत कुरा सुधार गरेर सहजीकरण गर्न खोजेको प्रयास राम्रो छ । राजश्वका दरमा हेरफेर नगर्ने विषय पनि राम्रो पक्ष हो, बहुदर भ्याटका कुरा समेटिएको छैन तर पनि रोजगारी, उद्यमशीलता, आन्तरिक स्रोतको पाटोमा बढी जोड दिनुपर्छ भनिएको विषय सबल देखिन्छ ।’ पोख्रेलले पुँजीगत खर्च हेरेर राजश्वको लक्ष्य महत्वकांक्षी देखिएको बताए ।

उनले भने, ‘स्रोत भेटाउन नसके त्यसले आन्तरिक क्रृण बढ्ने भएकाले केही समस्या सृजना गर्ला कि भन्ने लाग्छ ।’ सरकारले आन्तरिक ऋण लिएर अघि बढ्ने कुरालाई ख्याल गर्नुपर्ने उनको सुझाव छ । सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्य विषय स्वागतयोग्य रहँदै बजेट आएकाले अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थललाई सम्बोधन गरेकोमा राम्रो लागेको बताए । उनले कार्यान्वयनको पक्षलाई हेर्न जरुरी रहेको बताए ।

‘यसलाई संचालन गर्न यथेष्ट रुपमा कार्य हुन्छ वा हुंदैन भन्ने अन्योलता छ नै,’ उनले भने, ‘उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश प्रवाह गरेको छ ।’

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully