बजेटमा परिस्थितिभन्दा बाहिर गएर स्रोतको अनुमान गरिएको छैन : अर्थमन्त्री पौडेल

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Sources are not estimated beyond the situation in the budget: Finance Minister Paudel

काठमाडौँ — आगामी आर्थिक वर्षको बजेटमा स्रोत अनुमान यथार्थ धरातलमा टेकेर गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । कार्यान्वयन हुनसक्ने गरी योजना र स्रोतको अनुमान गरिएको उनको भनाइ छ ।

संघीय संसद्को संयुक्त सदनमा बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि अर्थमन्त्री पौडेलले आफ्नो धारणा सञ्चारकर्मीसमक्ष राखेका थिए ।

'यो बजेटको विशेषता भनेको अनावश्यक, परिस्थितभन्दा बाहिर गएर स्रोतको अनुमान गरेको छैन । यो यथार्थमा टेकेर ल्याइएको (रियालिस्टिक) बजेट हो । यो सुन्निएको बजेट होइन, वास्तविक बजेट हो,' उनले भने, 'स्रोतको अनुमान जे-जे गरिएको छ त्यो कार्यान्वयन हुनसक्ने गरिएको छ । चाहे राजश्वको कुरा गर्नुस्, वैदेशिक सहयोगको कुरा गर्नुस्, आन्तरिक ऋणको कुरा गर्नुस् हामीले बजेटको अनुशासनको सीमाभित्र रहेर काम गरेका छौं ।'

बजेटले निजी क्षेत्रको मनोबल बढाउने गरी नीति लिएको पनि बताए । 'उद्योगी व्यवसयीले के भन्नजुभएको छ उहाँहरूको कुरा भयो । यो बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास बढाउने, निजी क्षेत्रलाई सहयोग, सहजीकरण गर्ने, लगानी वृद्धि गराउने सबै दृष्टिकोणले अनुकूल छ,' उनले भने । संसद्‍मा बजेट प्रस्तुत भएपछि र कार्यान्वयमा गएसँगै अर्थतन्त्र चलायमान हुने पनि अर्थमन्त्रीको भनाइ थियो ।   

कान्तिपुर

Link copied successfully