आर्थिक सर्वेक्षणअनुसार तीनै तहका सरकारमा ई-गभर्नेन्स प्रणाली विस्तार

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Expansion of e-governance system in all three levels of government according to economic survey

काठमाडौँ — नेपालमा सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको सरकारको दाबी छ । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमा तीनै तहका सरकारमा ई-गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको उल्लेख छ । संयुक्त राष्ट्रसंघको पछिल्लो ई-गभर्मेन्ट सर्भेमा पनि नेपालको अवस्था सुधार भएको देखिन्छ तथापि दक्षिण एसियाली देशमध्ये नेपालको अवस्था कमजोर छ ।

ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच स्थानीय तहका ६ हजार ५ सय ३३ वडा केन्द्रमा विस्तार भएको आर्थिक सर्वेक्षणमा भनिएको छ । इन्टरनेट ग्राहहको घनत्व १४४.२३ प्रतिशत पुगेको छ । डिजिटल टेलिभजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको सर्वेक्षणले देखाएको छ ।

संयुक्त राष्ट्रसंघले दुई वर्षको अन्तरालमा सार्वजनिक गर्ने विद्युतीय सुशासन विकास सूचकांकमा सन् २०२४ मा कुल १ सय ९३ देशमध्ये नेपाल ११९ औं स्थानमा छ । यसअघि सन् २०२२ मा १२५ औं स्थानमा रहेको नेपालले ६ अंकको सुधार गरेको हो ।  

दक्षिण एसियाली देशमध्ये विद्युतीय सेवा प्रवाहमा नेपाल कमजोर अवस्थामा छ  । यो क्षेत्रमा अफगानिस्तान र पाकिस्तानबाहेक अन्य देशको भन्दा नेपालको विद्युतीय सेवा प्रवाह फितलो भएको राष्ट्रसंघको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

कान्तिपुर

Link copied successfully