पर्सा — संघीय सरकारले बिहीबार २०८२/०८३ को बजेट सार्वजनिक गर्नुअघि सवारीसाधन र मदिरा आयात हुने मुलुककै प्रमुख नाका वीरगन्जबाट उल्लेख्य परिमाणमा यी दुवै वस्तु आयात भएका छन् ।
वीरगन्ज भन्सार नाकाबाट नयाँ सवारीसाधन र सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट तयारी मदिराको आयात धेरै भएको हो । बजेटबाट सरकारले दुवै वस्तुको आयातमा भन्सार शुल्क तथा अन्तःशुल्क वृद्धि गर्ने पूर्वानुमान गरी आयातकर्ताले यसो गरेका हुन् । जेठ १ देखि १४ गते बुधबारसम्म वीरगन्ज भन्सार नाकाबाट १ सय ५४ बस ट्रकका चेसिस, विद्युतीय कार/जिप र इन्धनबाट चल्ने जिप, कार, भ्यान आयात भएका छन् ।
बुधबार एक दिन मात्रै ३२ वटा यस्ता सवारीसाधन जाँच पास भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले बताए । सामान्य दिनमा ६/७ वटा मात्र नयाँ सवारी साधन जाँचपास हुने गरेकोमा जेठ लागेदेखि नै यो क्रम बढेको उनले बताए । ‘प्रायः संघीय सरकारको बजेट आउनुअघि यो प्रवृत्ति बर्सेनि दोहोरिन्छ,’ उनले भने, ‘यस वर्ष पनि त्यसकै पुनरावृत्ति भएको हो ।’
वीरगन्ज भन्सारले संकलन गर्ने राजश्वमा सवारीसाधन आयातबाट संकलन हुने राजश्वको मुख्य भूमिका हुने गरेको छ । सवारीसाधनको आयात बढेपछि जेठमा राजश्व असुलीमा पनि केही सुधार आउने उनले बताए । भारतमा निर्मित तथा तेस्रो मुलुकबाट समेत आयात हुने सवारी साधन भित्रिने मुलुककै मुख्य नाका वीरगन्ज नाका हो । भौगोलिक रूपले कोलकाता बन्दरगाहबाट नजिक रहेको तथा वीरगन्जको राजधानी काठमाडौँसँगको छोटो दुरीको कारणले पनि यो नाका हुँदै सवारीसाधन आयात गर्न रुचाउँछन् ।
यता जेठ ९ देखि बुधबारसम्म ६ दिनमा सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट ९२ हजार ६ सय लिटर तयारी मदिरा आयात भएको छ । यति परिमाणमा मदिरा आयात हुँदा बन्दरगाहस्थित भन्सार कार्यालयले २९ करोड १४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो भन्सारको राजश्व असुलीमा बढी योगदान गर्ने वस्तुको सूचीमा मदिरा अग्रपङ्क्तिमा आउने गर्छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल आयातित मदिरामा बियर, वाइन, ह्विस्की/ भोड्का रहेको बताउँछन् । यो नाका हुँदै भित्रिने मदिरा कोलकाता बन्दरगाहसम्म पानीजहाजमा र त्यहाँबाट रेलमा आयात गरिन्छ । यसरी रेलमार्गबाट आयात गर्दा सस्तो र क्षति पनि कम हुने गर्दा आयातकर्ताले तेस्रो मुलुकबाट मदिरा आयात गर्न यो नाका रुचाउँछन् । १ कन्टेनर ह्विस्की आयात हुँदा १ करोड ५० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्म र १ कन्टेनर वाइन आयात हुँदा ७०/८० लाख रुपैयाँसम्म राजश्व संकलन हुने गर्छ ।
नेपालमा स्कटल्यान्डबाट जनिवाकर, भ्याट ६९, टिचर्स, अमेरिकाबाट जिमबिम, बेलायतबाट सिवास रिगल आदि ब्राण्डका ह्विस्की बढी आयात हुने गरेको छ । ह्विस्कीमा त्यसको अल्कोहलको मात्राको प्रतिशत (अन्डर प्रुफ) को आधारमा अन्तःशुल्क, भन्सार शुल्क लाग्ने गर्छ । त्यस बाहेक मूल्य अभिवृद्धि कर समेत लाग्छ ।
