काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १७.४४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ९३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार झिनो अंकले सकारात्मक अवस्थामा बन्द भएको नेप्सेमा बुधबार दोहोरो अंकको वृद्धि भएको हो । सो दिन कारोबारमा आएकामध्ये १४८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९७ वटाको घट्यो र २ वटा कम्पनीको स्थिर रहयो ।
७७ हजार ३ सय १६ पटकको सेयर कारोबारमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।
मंगलबार सेयर बजारमा ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्यको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।
