काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ०.८५ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.०३ प्रतिशतले सकारात्मक हुँदै समग्र नेप्से २ हजार ६ सय ७५.६२ विन्दुमा पुगेर बन्द भएको हो । गत सोमबार ५.२१ अंक घटेर बन्द भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १६१ वटाको घट्यो । ५९ हजार ६ सय ३३ पटकको सेयर कारोबारमा १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत सोमबार सेयर बजारमा ७ अर्ब ५६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्यको परिसूचक घटे । बाँकी बैकिङ, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढेको नेप्सेको तथ्यांक छ ।
