काठमाडौँ — शहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्ष (साउन १ गतेबाट) सरकारी कामकारबाही पेपरलेस हुने भएको छ । साउन १ गतेबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) प्रणालीबाट काम हुने शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।
'यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्नेछ,' सिग्देलले भने ।
मंगलबार उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मनत्रालयको सेवाप्रवाह सहज र चुस्त बनाउन फाइल ट्यापिङ सिस्टम र एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्यवयनमा ल्याउने जनाए । ‘सरकारी कामकारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौं,’ उनले भने,‘ अब अन्तरमन्त्रालय फाइल र चिठीपत्र, मन्त्रालय र विभागहरुबीच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’
यो प्रणाली लागू भएपछि ब्याकडेटमा काम गर्ने र फाइलहरु अड्काउने प्रवृत्ति अन्त्य हुने छ । कुन फाइल मन्त्रालयको कुन निकायमा कति दिनदेखि छ भन्ने जानकारी लिने फाइल ट्रयापिङ सिस्टम पनि कार्यान्वयनमा ल्याइने भएको छ ।
जीआईओएमएस प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउन लागेको हो ।
यो प्रणाली प्रयोग गरी सरकारी निकायहरुले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य हुनेछ ।
