काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरूबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको छ ।
भेटवार्तामा विद्यमान नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने विषयमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ ।
अर्थतन्त्रलाई कोभिड-१९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथामिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालीन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए/गरेका सुधारका कार्यको बारेमा जानकारी गराएका थिए ।
यसैगरी राष्ट्र बैंकका गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्ने सम्बन्धमा सहजीकरण गर्ने बताए ।
