सातामा झन्डै ७७ अंकले बढ्यो सेयर बजार

पाँच दिनको कारोबारमा नेप्से तीन दिन बढ्यो, दुई दिन घट्यो

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

The stock market increased by about 77 points in the week

काठमाडौँ — साप्ताहिक कारोबारमा नेप्से परिसूचक करिब ७७ अंकले बढेको छ । अघिल्लो बिहीबारको तुलनामा गत बिहीबार नेप्से परिसूचक करिब ७६.७ अंकले बढेको हो ।

यो साताको पाँच कारोबार दिनमा तीन दिन नेप्से बढ्यो भने दुई दिन घट्यो । तीन दिनमा ८७.४३ अंकले बढेको नेप्से दुई दिनमा १०.७३ अंकले घटेको थियो । जसअनुसार अघिल्लो बिहीबार २ हजार ६ सय ११.८५ अंकमा रहेको नेप्से गत बिहीबार २ हजार ६ सय ८८.५५ बिन्दुमा बन्द भएको हो । अघिल्ला साताहरूमा खासै बढ्न नसकेको नेप्से गत साता ७७ अंकले वृद्धि भएको हो । 

गत साता सेयर बजारमा ४३ अर्ब ७० करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा भएको कुल कारोबारमध्ये सबैभन्दा धेरै १८ अर्ब ५३ करोड (४२.४० प्रतिशत) रुपैयाँको जलविद्युत् उपसमूहका कम्पनीको मात्र भएको छ । कुल साप्ताहिक कारोबारमध्ये ८.३४ प्रतिशत बैकिङ, ९.४७ प्रतिशत अन्य, ७.२४ प्रतिशत विकास बैंक, ७.०९ प्रतिशत लगानी, ५.२१ प्रतिशत जीवन बिमा र ४.४५ प्रतिशत लघुवित्त उपसमूहको हिस्सा छ । 

गत साता ३ लाख ९९ हजार ४० वटा कारोबारबाट ९ करोड ५४ लाख २४ हजार ३२८ कित्ता सेयर किनबेच भए । सबैभन्दा बढी जलविद्युत् उपसमूहअन्तर्गतका कम्पनीको ४ करोड ५७ लाख ३ हजार ६ सय २० कित्ता सेयर किनबेच भएको थियो । 

नेप्से परिसूचक बढेसँगै गत साता लगानीकर्ताको सम्पत्तिको मूल्य पनि करिब सवा एक खर्ब रुपैयाँ बढेको छ । उक्त अवधिमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि १ खर्ब २९ अर्बले बढेकाले लगानीकर्ताको सम्पत्तिको मूल्य पनि बढेका रूपमा विश्लेषण गरिएको हो । अघिल्लो बिहीबार ४३ खर्ब ४४ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत बिहीबार ४४ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । बजार पुँजीकरणको हिसाबले बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ५२.७ प्रतिशत छ । जलविद्युत् उपसमूहको हिस्सा १५.१, लगानीको ७.९, व्यापारको ५.८, उत्पादन तथा प्रशोधनको ५.४, होटलको २.६ र अन्य उपसमूहको हिस्सा १०.५ प्रतिशत छ । 

हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २ सय ७० छ । तीमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ९१ जलविद्युत्, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी, ४ व्यापार र ७ अन्य उपसमूहका छन् । २०८० चैतसम्म नेप्सेमा सूचीकृत कम्पनी संख्या २ सय ७२ थियो । हालसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ७२ करोड धितोपत्रको चुक्ता मूल्य ८ खर्ब ५९ अर्ब ४५ करोड रुपैयाँ छ । 

चालु आर्थिक वर्षको नौ महिनामा १९ अर्ब ७७ करोडको बोनस सेयर, १५ अर्ब ४१ करोडको साधारण सेयर, ११ अर्ब ६५ करोडको हकप्रद सेयर, १ अर्ब २५ करोडको सामूहिक लगानी कोष, १० करोड ६९ लाखको एफपीओ र ३ अर्ब ९६ करोडको अन्य गरी कुल ५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यस अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको सामूहिक लगानी कोष, १० अर्ब ३७ करोड बराबरको हकप्रद सेयर, ४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र १ अर्ब ७९ करोड बराबरको साधारण सेयर गरी कुल २८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर संवाददाता

Link copied successfully