नो लाइट शाखाको निरीक्षणपछि मन्त्री खड्काले भने - 'लोडसेडिङ हुँदैन, हुन दिइँदैन'

गत चैत ६ मा बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका थिए ।

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

After inspecting the No Light branch, Minister Khadka said - 'Load shedding does not happen, it is not allowed to happen'.

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन् । मन्त्री खड्काले नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिए ।

मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत‍्ले माग पूरा गर्न पर्याप्त रहेको स्पष्ट पार्दै भने, 'लोडसेडिङ हुँदैन, हुन दिइँदैन।' यसअघि गत चैत ६ मा बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका थिए ।

उनले केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गरे । 'विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,' उनले भने, 'अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ। कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ। अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन्।'

स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित  भार प्रेषण केन्द्र (एलडीसी) को समेत आकस्मिक अवलोकन गरे । उनले एलडीसी मार्फत मुलुकभरको विद्युत् प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे प्रत्यक्ष जानकारी लिए  ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिए । उनले बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आम जनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहन जोड दिए । 'हामी सस्तोमा बिजुली किनेर अहिले भारतलाई उच्च मूल्यमा बेच्न सफल भएका छौं,' उनले  भने । विद्युत् व्यापारलाई राष्ट्रको हितमा प्रयोग भइरहेको बताए ।

निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति थियो ।

कान्तिपुर

Link copied successfully