काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १९.०४ अंकले बढेको छ । शून्य दशमलव ७१ प्रतिशतले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ बिन्दुमा उक्लिएको छ ।
बुधबारको तुलनामा बिहीबार नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेको थियो । बिहीबार ९ अर्ब ८२ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बिहीबार १०४ कम्पनीको सेयर मूल्य बढ्यो, १४२ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । ८६ हजार ६८५ पटकको सेयर कारोबारबाट २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच भएको छ ।
नेप्से बढेसँगै कुल बजार पुँजीकरण ३१ अर्ब ६८ करोड ८२ लाख रुपैयाँले बढेको छ । गत बुधबार ४४ खर्ब ४२ अर्ब ०५ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४४ खर्ब ७३ अर्ब ७३ करोड कायम भएको छ । उक्त अवधिमा नेप्से ३१ अर्ब ६८ करोड रुपैयाँले बढेको छ ।
समग्र नेप्से परिसूचक बढे पनि अधिकांश उपसमूहका परिसूचक घटेका छन् । बैंकिङ, लघुवित्त, सामूहिक लगानी कोष र निर्जीवन बिमा उपसमूह मात्रै बढे । बैंकिङ ५१.३५, लघुवित्त १२२.४९, सामूहिक लगानी कोष शून्य दशमलव शून्य १ र निर्जीवन बिमा शून्य दशमलव ४८ अंकले बढे । घट्ने उपसमूहमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, व्यापार, जीवन बिमा, उत्पादन तथा प्रशोधनलगायत उपसमूह रहे । विकास बैंक १३.०४, होटल तथा पर्यटन १८५.११, जलविद्युत् ३८.५४, व्यापार ३५.२२, जीवन बिमा २०.२५ र उत्पादन तथा प्रशोधन उपसमूह २५.४७ अंकले घटे ।
ओम मेगाश्री फर्मासिटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । एनआईसी एसिया बैंकको ७.८०, फवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२, कुमारी बैंकको ६.०६ प्रतिशतले सेयर मूल्य बढ्यो ।
