चेम्बरका कार्यवाहक अध्यक्ष मल्होत्रा र गभर्नर पौडेलबीच भेटवार्ता

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Meeting between Acting Chairman of the Chamber Malhotra and Governor Paudel

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपककुमार मल्होत्रा सहितको टोलीले गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ । चेम्बरले मुलुकको समग्र आर्थिक विकास, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँचको विस्तार तथा वित्तीय समावेशीताजस्ता राष्ट्रिय प्राथमिकता भएका विषयमा रणनीतिक योजनासहित काम गर्न गभर्नर पौडेललाई सुझाएको छ । 

चेम्बरका कार्यबाहक अध्यक्ष मल्होत्राले मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन गभर्नर पौडेलको भूमिका महत्वपुर्ण हुने बताए ।  ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको भूमिका अझ महत्वपूर्ण हुने विश्वास हामीले लिएका छौं,’ उनले भने ।

अर्थतन्त्र चलायमान गराउने चुनौती कायमै रहेको सर्न्दभमा आगामी बजेट र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकासा दिनुपर्ने मल्होत्राले जनाए । वित्तीय क्षेत्रमा दीर्घकालीन सुधार र स्थायित्व कायम गर्नेतर्फको एक महत्वपूर्ण कदम हुने चेम्बरले जनाएको छ । 

राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीको प्रवर्द्धन, सूक्ष्म, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा सुधार, तथा समावेशी वित्तीय नीतिको विकासमा अग्रगामी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको चेम्बरले  जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully