सुर्खेत विमानस्थल शनिबारसम्म बन्द

जेष्ठ ८, २०८२

तृप्ति शाही

Surkhet Airport closed till Saturday

वीरेन्द्रनगर — सुर्खेत विमानस्थल शनिबारसम्म बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो। एक ठाउँमा काम सकेलगत्तै पुनः दोस्रो ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि पुनः विमानस्थल बन्द गरिएको हो।

धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि विमानस्थलबाट उडान हुन सकेको छैन ।

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको थियो । उक्त खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए । पानी निस्किएपछि विमानस्थल बन्द गरिएको उनले बताए ।शनिबारसम्म काम सकिने र हवाई सेवा पुनः सञ्चालन हुने उनले बताए ।

अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully