सल्यान — बुधबार बिहान परेको असिनापानीले सल्यानको कपुरकोट गाउँपालिका–१, २, ५ का किसानले झन्डै एक हजार रोपनीमा व्यावसायिक रूपमा लगाएको तरकारीमा क्षति पुर्याएको छ । असिनापानीले सारपानी, गर्पा र सल्लामका २ सय ५० किसान प्रभावित भएका हुन् ।
किसानले तरकारीको बोट र रोप्नका लागि राखेको ब्याडमा क्षति पुगेको जानकारी दिएका छन् । वर्षात्सँगै असिनाले १० रोपनी जग्गामा लगाएको काउली नष्ट भएको कपुरकोट–५ सल्लामका प्रदीप बस्नेतले बताए । ‘काउली, बन्दा बेचेर वार्षिक १० लाखसम्म कमाउँदै आएको थिएँ । त्यसैले घर खर्च चलाउँथें । असिनाले सबै बाली सखाप बनायो,’ उनले भने ।
असिनाले आफ्नो बारीमा फल्न थालेको गोलभेंडा, भेडेखुर्सानी, सिमी, बोडीलगायत तरकारीमा क्षति पुर्याएको सारपानीका किसान उजरसिंह पुनले बताए । ‘बिउ, बेर्ना, मल, मजदुर खर्च गरी तरकारी लगाउन एक लाखभन्दा बढी खर्च लागेको थियो । अहिले फल्ने बेलामा एउटा बोट गतिलो छैन,’ उनले भने । कपुरकोट–१ का वडाध्यक्ष बालाराम खड्काले आफ्नो वडामा ८०/९० घर किसान पूर्ण रूपमा प्रभावित भएको बताए । तरकारीका बोट सखाप हुँदा वडाभित्र २५–३० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए ।
कपुरकोटका ४ हजारभन्दा बढी किसानले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनीहरूले वार्षिक ४० करोड बढीको तरकारी निकासी गर्दै आएको पालिकाले जनाएको छ । यहाँका किसानको मुख्य आयस्रोतको माध्यम तरकारी नै हो । कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले स्थलगत अध्ययनपछि क्षति विवरण सार्वजनिक गरिने र राहत उपलब्ध गराउने बताए ।
