याङ्गोले थाल्यो राइड सेयरिङ सेवा

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Yango launches ride-sharing service

काठमाडौँ — विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपालमा राइड सेयरिङ सेवा सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यकामा परीक्षण सेवा सुरु गरेको हो । कम्पनीले आफ्नो ‘सिटी सर्भिसेस एप याङ्गो’ गुगल प्ले तथा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने जनाएको छ ।

मोबिलिटी सेवा अन्तर्गतको याङ्गो राइडले यात्रुलाई स्थानीय यातायात प्रदायकसँग जोड्दै साझेदार चालकलाई ग्राहक फेला पार्न सहयोग पुर्‍याउने जनाएको छ । साथै, नक्सा, नेभिगेसन सिस्टम र स्मार्ट अर्डर वितरण एल्गोरिदमको प्रयोग यात्रु र चालकलाई फलदायी हुने कम्पनीको दाबी छ । 

‘काठमाडौंमा परीक्षण चरण सुरु गर्दा निकै उत्साहित छौं,’ याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले भने, ‘यस सेवाको व्यावसायिक मोडल स्थानीय उद्यमीसँगको सहकार्यमा बनेको हो, जसले आर्थिक अवसर सिर्जना गर्नुका साथै सहरको गतिशील यातायात पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने लक्ष्य राख्छ ।’ परीक्षण अवधिमा यात्रु र साझेदार चालकबाट प्राप्त प्रतिक्रिया र स्थानीय आवश्यकताअनुसार नीतिनियम परिमार्जन गरिने उनले जानकारी दिए ।

काठमाडौंमा मोबिलिटी पहुँच विकास गर्ने, दैनिक यात्रा सहज बनाउन भरपर्दो विकल्प हुने र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ । 

याङ्गो समूहले अफ्रिका, दक्षिण अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसियासहित ३० बढी देशमा डेलिभरी, फुडटेक, मनोरञ्जनलगायत डिजिटल सेवा प्रदान गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully