गोठमै गाईभैंसीको भिडियो एक्स–रे !

जेष्ठ ७, २०८२

केदार शिवाकोटी

Video X-ray of cattle in the barn!

दोलखा — वस्तुभाउको रोग पहिचान गर्न जिल्लाको मेलुङ गाउँपालिकामा गोठमै गाईभैंसीको भिडियो एक्स–रे गरिएको छ । समयमै रोग पहिचान गरेर व्यावसायिक पशुपालकलाई हानि कम गर्न मेलुङका डेरी संचालित १,२ र ७ नं वडामा गाईभैंसीको भिडियो एक्स–रे गरिएको छ । 

गोठमै पुगेर गाईभैंसीको स्वास्थ्य परीक्षण गरिएको यो पहिलो पटक भएको पालिकाका अध्यक्ष हिरा थोकरले बताए । हेफर नेपालको आर्थिक र प्राविधिक सहयोगमा आधुनिक प्रविधि प्रयोग गरी पशुपालक किसानको समस्या समाधान गर्न यो अभियान संचालन गरिएको उनले बताए । 

‘पशुपालन गरेका किसानले गाठमा भोग्दै आएका समस्या समाधान गर्न गोठमै पुग्ने अभिान संचालन गरिएको हो,’ उनले भने, ‘अहिले मुख्यगरी डेरी संचालन भएका वडाहरुमा गाईभैंसीको स्वास्थय परीक्षण गरिएको छ ।’ ३ वटा वडाको ६० गोठका ८५ वटा गाईभैंसीको भिडियो एक्स–रे गरिएको हेफर नेपालका वरिष्ठ कार्यक्रम अधिकृत पशु चिकित्सक राजेन्द्र ढकालले बताए । ‘किसानले पालेका गाईभैंसीको स्वास्थ्य परीक्षण गर्दा दूध कम दिनुको मुख्य कारण पोषण कम भएको देखिएको छ,’ उनले भने, ‘कतिपय गाईभैंसीमा बाँझोपना र पाठेघरको समस्या पनि देखियो ।’ 

गाईभैंसीमा देखिएको समस्या समाधान र उपचार पद्धतिका बारेमा स्थानीय पशु प्राविधिकलाई ज्ञान पनि दिइएको उनले बताए । कृषि तथा बन विश्वविद्यालय र हेफरको पशु चिकित्सकले गाईभैंसीमा देखिने रोग र त्यसको समाधान गर्न हातैले छामेर पत्ता लगाउन सकिने विधि पनि सिकाईएको उनले बताए । 

केदार

Link copied successfully