लोडसेडिङको हल्ला सामाजिक सञ्जालमा हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Rumors of load shedding are on social media, not in reality: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालमा मात्रै भएको दाबी गरेका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि फैलाइएको बताए । उनले मर्मतसम्भारका कारण बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने दाबी गरे ।

उनले बेला–बेलामा विद्युत् विच्छेद हुने अवस्था आज मात्र नभई अघिल्ला वर्षहरूमा पनि देखिँदै आएको बताए । गत वर्षमा मात्रै विभिन्न कारणले गर्दा करिब ७ सय घण्टासम्म विद्युत् अवरुद्ध भएको दाबी उनको थियो ।

कहिले हावाहुरी, कहिले ठूला पोल ढल्ने, कहिले मानव त्रुटिका कारण पनि विद्युत् आपूर्तिमा समस्या देखिएको उल्लेख गरिएको थियो । मर्मतका कारण हुने विच्छेदबाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरूमा झनै नहुने मन्त्री खड्काले स्पष्ट पारे ।

उनले भने, 'बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत् आयात गरेका थियौँ । आवश्यकताअनुसार ६ सय, ७ सय हुँदै घट्दै गएर स्वदेशी उत्पादन बढ्दै गएको अवस्था थियो । अस्तिको दिनसम्म पनि हामीले साढे ३ सय मेगावाट विद्युत् आयात गरिरहेका थियौँ भने आजको रेकर्डअनुसार १ सय ५० मेगावाट विद्युत् निर्यात गरेका छौँ । विद्युत् पुगेर, उब्रिएर निर्यात गरिएको हो ।'

उनले लोडसेडिङको हल्ला केवल सामाजिक सञ्जालमा फैलिएको भ्रम भएको बताए । उनले भने, 'विगत वर्षको तथ्याङ्क हेर्दा वर्षभरि करिब ७ सय घण्टा विभिन्न कारणले विद्युत् अवरुद्ध भएको देखिन्छ । कहिले हावाहुरी, कहिले पोल ढल्ने, कहिले मानिस चढेर दुर्घटना हुने, कहिले पानी वा असिनाका कारण पनि विद्युत् अवरुद्ध भएको थियो । कहीँ मर्मतको बेला हुने विच्छेद बाहेक लोडसेडिङको अवस्था अहिले छैन । आगामी वर्षमा झनै लोडसेडिङ हुने अवस्था देखिँदैन । किनभने उत्पादन बढ्दो छ ।'

मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully