सल्यानमा पूर्ण विद्युतीकरणको योजना अलपत्र

जेष्ठ ७, २०८२

विप्लव महर्जन

Plans for full electrification in Salyan stalled

सल्यान — पूर्ण विद्युतीकरणको कार्यक्रम अनुसार कपुरकोट गाउँपालिकाको गाडापानी लगायतका विभिन्न वडाका बस्तीमा पोल गाडेको एक वर्ष बितिसक्यो। तर अहिलेसम्म पनि केही स्थानमाबाहेक अन्यमा तार तान्ने तथा लाइन विस्तारको काम हुन सकेको छैन।

कुमाख गाउँपालिकाका १, ४ र ६ वडामा पनि पूर्ण विद्युतीकरणको कार्यक्रम परेपछि निर्माण कम्पनीले टाटके, जिमाली, वडा गाउँ, स्विकोटमा पोल गाडेको छ। तर तार टाँगिसकेको छैन, कतिपय गाउँमा त पोल पनि गाडिसकेको छैन।

स्थानीयवासीले तीब्र गतिमा विद्युतीकरणको काम गर्न आग्रह गर्दै आए पनि निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ। जसका कारण समयमै बत्ती बाल्न पाउने चाहना पूरा नहुने देखिएपछि स्थानीय चिन्तित भएका छन्। 

दुई मात्र नभई जिल्लाका १० स्थानीय तहका सबै घरमा बत्ती बाल्नका लागि शारदा, बाग्चौर नगरपालिका, त्रिवेणी, कुमाख, कपुरकोट, छत्रेस्वरी, सिद्धकुमाख र दार्मा गाउँपालिकामा पोल गाड्ने, तार तान्ने काम निर्माण कम्पनी शक्ति क्रिस्टल जेभी दोलखाद्वारा २०८० मा अगाडि बढाइएको थियो।

निर्माण कम्पनीद्वारा पोल गाड्ने, तार तान्ने काम अगाडि बढाए पनि उक्त कार्यक्रम झन्डै एक वर्षदेखि अलपत्र परेको छ। विद्युत् प्राधिकरणले भनेको समयमा निर्माण कम्पनीलाई आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा जिल्ला पूर्ण विद्युतीकरणको कार्य अलपत्र परेको हो । 

जिल्लाका ५४ हजार घरधुरीमध्ये अहिलेसम्म ६९ प्रतिशत घरले बत्ती बाल्दै आएका र २३ हजार अझै पनि बिजुलीको पहुँच बाहिर छन्। ती परिवारलाई पनि विद्युत सुविधा दिने भन्दै १० करोड रुपैयाँ विनियोजन गरेको थियो। २०८० मै ठेक्का लागेको भएपनि अहिलेसम्म कामले गति लिन सकेको छैन। यहाँ काम गर्ने जिम्मेवारी शक्ति क्रिस्टल जेभी दोलखाले पाएको थियो।  विद्युतीकरण नहुँदा अहिले पनि बत्तीको लागि ग्रामीण क्षेत्रका बासिन्दाले सल्ले झर्को, सोलार टुकी प्रयोग गर्न बाध्य छन्। 

कुमाख गाउँपालिकाका केही वडामा पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत पोल गाड्ने काम निर्माण कम्पनीले गरे पनि आफ्नो वडाको बाउन गाउँ, तुसारेमा अहिलेसम्म पोल नझारेको कुमाख गाउँपालिका-४ का वडाध्यक्ष शोभीलाल बस्नेतले बताए ।

‘वडा नं ४ को विभिन्न बस्तीका लागि ९० पोल चाहिने हो । अहिले निर्माण कम्पनीले सेती डाँडातिर २२ पोल गाडेको छ त्यत्ति नै हो । थप पोल ल्याएर जडान गर्ने बारेमा कुनै चासो देखाएको छैन,’ उनले भने ‘हामीले थप पोलको लागि पटक-पटक सम्पर्क गर्ने कोसिस गरिरहेका छौँ। तर निर्माण कम्पनीका ठेकेदार नै सम्पर्कविहीन छन्।' 

निर्माण कम्पनीकै चरम लापरबाहीका कारण काम  रोकिएको एक वर्ष हुन थालेको र जसका कारण स्थानीय समस्यामा परेका उनको भनाइ छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले सबै वडालाई पूर्ण रूपमा विद्युतीकरण गर्न ३ हजार पोल गाड्नु पर्नेमा धेरै जसो पोल गाडे पनि धेरै स्थानमा तार तान्न, ट्रान्समिटर जडानको काम हुन नसकेको बताए । पालिकाको ८० प्रतिशत घरमा बिजुलीको व्यवस्था भइसकेको र २० प्रतिशत घरमा मात्र बत्ती पुग्न बाँकी रहेको उनको भनाइ छ।

त्यस्तै, शारदा नगरपालिका-७ को केही बस्तीका लागि ४० वटा पोल आएको झन्डै एक वर्ष भए पनि अहिलेसम्म निर्माण कम्पनीले काम अघि बढाएको छैन। वडाध्यक्ष लिलाबहादुर रोकाले पोल झारेर गएदेखि निर्माण कम्पनीका कोही पनि नआएका बताए। ‘पोल झरेपछि बत्ती बाल्न पाउने आशामा स्थानीयले घरघरमा वाईरिङ्ग गरिसकेका छन् । तर बारम्बार ताकेता गर्दा पनि काम अगाडि बढेको छैन,' वडाध्यक्ष रोकाले भने।

विद्युतीकरण हुन बाँकी २३ हजार घरधुरीमध्ये शारदा, बाग्चौर नगरपालिका, कपुरकोट, दार्मा, त्रिवेणी, कुमाख, छत्रेस्वरी, सिद्धकुमाख गरी आठ पालिकाका झन्डै २१ हजार घरधुरीका लागि ७ हजार पोल गाड्ने तयारी थियो। अहिलेसम्म निर्माण कम्पनीले ५ हजार १ सय पोल मात्र गाडेका छन्।

ठेकेदार कम्पनी शक्ति क्रिस्टल जेभी दोलखाका इन्जिनियर लिल दर्लामीले सरकारले निर्माण सामग्री आवश्यकता अनुसार पठाउन नसक्दा निर्माणको काम केही महिनादेखि रोकिएको बताए। तर अलपत्र परेको भन्ने नमिल्ने दाबी गरे। ‘हामीले सामाग्रीहरू माग गरिरहेका छौँ। तर माग अनुसार सामानहरू प्राप्त हुन सकेको छैन,' उनले भने। 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully