विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Maoists' demand to discuss the profit and loss of electricity authority by bringing all the three sides

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्षलाई झिकाएर छलफल गर्न माग गरेका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा गरिएको अडिट र हाल हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेपछि गरिएको अर्को अडिटको विषयमा स्पष्टता आवश्यक रहेको बताए ।

उनले समितिमा विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक, पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र महालेखा परीक्षकलाई उपस्थित गराई छलफल गर्नुपर्ने माग राखेका थिए ।

उनका अनुसार प्रतिपक्षले कुलमानको बचाउ गर्ने र सत्तापक्षले खेदो खन्ने कार्यको अन्त्य गर्दै सत्यतथ्यमा आधारित निष्कर्ष निकाल्न छलफल आवश्यक छ । यदि कुलमान दोषी ठहरिए कानुनअनुसार कारबाही हुनुपर्ने धारणा उनले व्यक्त गरे ।

उनले भने, 'हिजो कुलमानज्यू हुँदा अडिट प्रणाली फरक थियो, अहिले अर्को अडिट प्रणाली लागू गरिएको देखिन्छ । यही कुरा त स्पष्ट पार्नुपर्छ । विद्युत् प्राधिकरणका बहालवाला एमडी, कुलमानज्यू र आवश्यक परे महालेखा परीक्षकलाई पनि झिकाएर छलफल गर्नुपर्छ । सबैभन्दा पहिले पारदर्शी ढंगले बुझ्न जरुरी छ । हामी प्रतिपक्षको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने काम बन्द गरौँ । विलम्ब नगरी सबैको भनाइ सुनेर निष्कर्षमा पुगौँ । यदि कुलमानज्यूबाट गल्ती भएको हो भने नेपालको कानून अनुसार कसैलाई उन्मुक्ति दिने कुरा हुँदैन ।'

उनले राम्रो कामलाई राम्रो भन्न र गल्ती भए गल्ती स्वीकार गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए ।

कान्तिपुर

Link copied successfully