कैदीबन्दीले उत्पादन गरेका फर्निचर, मुढा, टोपी र स्वीटरजस्ता सामग्री विदेशमा पनि निर्यात
गुल्मी — ढोकाभित्र छिर्दा कानमा थरीथरी आवाज ठोक्किन्छ । कोही काठमा बुट्टा कोर्न व्यस्त छन् त कोही फर्निचर र मुढा बनाउन । तानमा कपडा र टोपी तथा स्वीटर बुन्ने पनि उत्तिकै छन् । व्यवस्थित उद्योग चलिरहेको जस्तो लाग्ने यो दृश्य हो, गुल्मी कारागारको ।
कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका ५२ वर्षीय पुरुष आँखी झ्याल बनाउने मुख्य मिस्त्री हुन् । २६ वर्षदेखि काठलाई फूलबुट्टे आकार दिँदै आएका उनी २ वर्षदेखि गुल्मी कारागारमा छन् । उनले अन्य कैदीबन्दीलाई पनि सीप सिकाएका छन् । ‘बाहिर पनि यही काम गर्थें, यहाँ आफ्नो कामसँगै सीप हस्तान्तरण गरेको छु,’ उनले भने, ‘मासिक ४५ हजार आम्दानी गरिरहेको छु ।’ कैद भुक्तानपछि पनि यही पेसालाई निरन्तरता दिने उनले बताए । ४ जनाको परिवारलाई उनले कारागारबाटै खर्च पठाइरहेका छन् ।
५ वर्षदेखि यहाँ कैद भुक्तान गरिरहेका पाल्पाका ३० वर्षीय पुरुषले सुरुमा मुढा बुन्ने काम मात्रै गर्थे । २ वर्षदेखि उनले काठलाई नयाँ–नयाँ आकार दिइरहेका छन् । उनले यी सबै सीप कारागारमै आएर सिकेका हुन् । उनले बुबाआमा, २ दिदी, १ भाइ र १ छोरासहित ६ जनाको परिवारलाई घर खर्च पुर्याइरहेका छन् । ‘मासिक २५ हजार कमाइ गर्दै आएको छु,’ उनले भने, ‘कैद भुक्तानपछि यही पेसालाई व्यवसाय बनाउँछु ।’ उनीसँग अहिले मुढा बुन्ने, काठमा फूलबुट्टे आकार दिनेलगायत सीप छन् ।
गुल्मी कारागारमा अहिले १ सय ४ जना कैदीबन्दी छन् । जसमा १ आश्रित र १ अपांगता भएकाबाहेक अरूले केही न केही काम गरिरहेका छन् । उनीहरूले मासिक न्यूनतम १० हजारदेखि ४५ हजारसम्म कमाइ गर्दै आएका छन् । कारागारमा अहिले आँखी झ्याल, मूर्ति, चौकस, ढोका, मुढा, फ्रेम, सोफा, टेबल, भान्सा र कार्यालय प्रयोजनका सामग्री उत्पादन हुने गरेको छ ।
तानसम्बन्धीका सामग्री, टोपी र स्वीटरलगायतका सामग्री पनि उत्पादन भइरहेको कारागार प्रशासनले जनाएको छ । जसका लागि मासिक ७ सय क्युफिट सालको काठ र अन्य ३ हजार क्युफिट काठ कारागारमा खपत भइरहेको छ । जसबाट गत वर्ष ३ करोड रुपैयाँको कारोबार भएको गुल्मी कारागार प्रमुख रेश्मीराज पन्थीले बताए । यो वर्ष ६ करोडको कारोबार हुने अपेक्षा गरेको उनले बताए ।
यहाँ उत्पादित सामग्री नेपालका सबै मुख्य सहरसहित अन्य ७ देशमा निर्यात भइरहेको छ । कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकदार) हरि थापाले दुबई, जापान, मलेसिया, भारत, मकाउ, सिंगापुर र अस्ट्रेलियामा सालबाट बन्ने आँखी झ्याल र सोफा निर्यात भएको बताए । उनले भने, ‘अन्य देशबाट पनि माग आएको छ ।’
२० पुरुष र ५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा कैदीबन्दीलाई भान्सा सुधार, सुताई व्यवस्थापन र आम्दानीका काममा जोडेको थापाले बताए । औद्योगिक ग्रामका रूपमा वा उद्योगका रूपमा कारागार
जानुपर्ने धारणा उनले व्यक्त गरे । २ वर्षअघि मुढा र तान बुन्ने रूपमा मात्रै रहेको कारागारलाई जिल्ला प्रशासन, कारागार र आन्तरिक प्रशासनसहित त्रिपक्षीय साझेदारीमा उद्योगका रूपमा स्थापित गर्न सकेको कारागार प्रमुख पन्थीले बताए । औद्योगिक कारागारका रूपमा दर्ता भएमा आम्दानी थप बढ्ने उनले बताए ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कारागारमा सीपको सदुपयोग गरेर आम्दानी गर्नु राम्रो उदाहरण भएको बताए । ‘कारागार एउटा औद्योगिकग्रामका रूपमा स्थापित गर्न केन्द्रबाटै नीति बन्नुपर्छ,’ उनले भने, ‘हाम्रोतर्फबाट पनि पहल गरिरहेका छौं ।’ उनले खुला कारागार, सुधारगृह र औद्योगिकग्रामको नीति बनाएर कारागार व्यवस्थापन गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
