काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् । मन्त्री खड्काको संयोजनमा मन्त्रालयमा सम्पन्न एक उच्चस्तरीय छलफलमा उनले उक्त आयोजनालाई ठोस कार्ययोजना बनाएर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
छलफलमा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादनसँगै पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा करिब एक लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने सम्भावनाबारे विस्तृत प्रस्तुति गरिएको थियो । चिसाङ सिँचाइ आयोजनामार्फत पानी वितरण गरिने यस आयोजनाले ऊर्जा, कृषि, रोजगारी सिर्जना, जल यातायात र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ ।
मन्त्री खड्काले आयोजनाको विगतको अवस्थाको समीक्षा गर्दै निर्माण प्रक्रिया लामो समयसम्म अल्झिनु, बजेटको ठूलो खर्च हुँदासमेत ठोस परिणाम नआउनु र बाँधको सुनिश्चितता नहुँदासम्म लगानीमा गति आउन नसक्नु चिन्ताको विषय भएको बताए ।
'काम नगर्ने तर लाइसेन्स ओगटेर बस्ने प्रवृत्तिलाई अब सह्य हुँदैन, सार्वजनिक-निजी-साझेदारी मोडेलमार्फत समयमै सकिने आधारमा आयोजना अघि बढाउन सकिन्छ,' उनले भने ।
सरकारी संयोजन र समन्वयको अभावले धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दै मन्त्री खड्काले विदेशी लगानीकर्ताको चासो बढिरहेको सन्दर्भमा ढिलाइ नगरी व्यावहारिक मोडेलमा आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
