वित्तीय क्षेत्रमा शंकास्पद कारोबार र गतिविधि बढे  

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Suspicious transactions and activities increased in the financial sector

काठमाडौँ — नेपालमा वित्तीय अपराधका कारोबार तथा गतिविधि बढ्दै गएको वित्तीय जानकारी इकाईको मासिक प्रतिवेदनले देखाएको छ ।

इकाइले जारी गरेको मासिक प्रतिवेदनले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६ हजार २ सय ५५ रहेका थिए । सन् २०२४ मा सो संख्या करिब ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३ सय ४ पुगेको छ ।

प्राप्त प्रतिवेदनमध्ये सन् २०२४ मा इकाईले १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको जनाइएको छ । सोमध्ये ८ सय ८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सूचक संस्थाले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १ सय ८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८ सय ५५ पुगेको इकाईले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय र नियामक निकायको जम्मा संख्या सन् २०२३ को अन्त्यमा १ हजार ४ सय ९६ रहेका थिए । सन् २०२४ को अन्त्यमा त्यो संख्या बढेर १ हजार ९ सय ५ पुगेको छ ।

इकाईले सन् २०२४ मा प्रकाशन गरेका प्रतिवेदन, जारी गरेका मार्गदर्शन तथा इकाईको वेबसाईटमा उपलब्ध उपयोगी सामग्रीका साथै सन् २०२४ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रकाशित उपयोगी प्रतिवेदन/प्रकाशनका लिङ सहितको जानकारी उपलब्ध गराइएको छ ।

वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी न्यूजलेटर सार्वजनिक इकाईले सन् २०२४ (जनवरीदेखि डिसेम्बरसम्म) का गतिविधिहरू समेटेर न्यूजलेटर प्रकाशन गरेको छ । न्यूजलेटर (चौथो संस्करण) मा इकाईको सन् २०२४ का मुख्य–मुख्य काम कारबाही, जानकारीमूलक सामग्री तथा लेखहरू समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully