काठमाडौँ — सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ।
समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का सदस्य रहेका छन्। उच्चस्तरीय समितिका पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समयसापेक्ष रूपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गरेका छन्।
समितिलाई ९० दिनको कार्यविधि दिइएको छ। नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक नरहेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावका आधारमा मन्त्रालयले तयार पारेको प्रस्तावलाई मन्त्रीपरिषद्को हालै बसेको बैठकले स्वीकृति दिएको हो।
उच्चस्तरीय समितिको कार्यक्षेत्रमा नार्कको विगतको उपलब्धि तथा चुनौती, यसअन्तर्गतका ऐन, नियम, नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने, अन्य देशमा यससम्बन्धी भएका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्मअनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्ने, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायत छन्।
