काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिनामा घरजग्गा कारोबारबाट सबैभन्दा बढी राजस्व वैशाख महिनामा उठेको छ । वैशाखमा मात्रै ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
विभागका अनुसार सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ उठेको थियो । चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ३७ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ राजस्व उठेको छ ।
विभागले सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शूल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व उठाउँदै आएको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै संघ सरकारको खातामा जाने विभागले जनाएको छ ।
