अर्थमन्त्रीलाई सांसद भट्टराईका २४ बुँदे सुझाव

जेष्ठ ३, २०८२

आनन्द गौतम

MP Bhattarai's 24-point suggestion to Finance Minister

ताप्लेजुङ — गृहजिल्लाका आयोजनासहित प्रतिनिधिसभाका सांसद एवं एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री विष्णु पौडेललाई २४ बुँदे सुझाव दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि पेस भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भट्टराईले यस्तो सुझाव दिएका हुन् । 

अर्थमन्त्री पौडेलले पेस गरेका आगामी बजेटका सिद्धान्त तथा प्राथमिकताका धेरै कुरा राम्रा भएको र सीमित स्रोत र साधनका बीच असीमित अपेक्षा पूरा गर्ने चुनौती रहेको उल्लेख गर्दै बसाइँसराई रोक्नेदेखि शैक्षिक सुधार गर्ने विषय रहेका छन् । 

पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय आयोगद्वारा प्रस्तुत प्रतिवेदन आधारभूत रुपमा सही र वस्तुपरक भएकाले वजेट निर्माणका क्रममा प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् । आफू निर्वाचित जिल्ला ताप्लेजुङको हकमा तमोर करिडोरलाई तिब्बतको सीमाना टिपतालासम्म कालोपत्र गर्न, तेहथुमको बसन्तपरदेखि ताप्लेजुङसम्मको मदन भण्डारीमार्गलाई कालोपत्र गर्न, कावेली करिडोर सडक आयोजना अघि बढाउन, मेची राजमार्गअन्तर्गत सुकेटार–थिवा सडकलाई बजेट विनियोजन गर्न, प्रमुख राजमार्गदेखि पालिका केन्द्रहरुको सडकलाई कालोपत्र गर्न, केचना–कञ्चनजंघा सडक निमाण कार्य अघि बढाउन बजेट व्यवस्था गरी पूर्वाधारको काममा ध्यान दिन ध्यानाकर्षण गराएका छन् ।

कोशी प्रदेशबाट निर्यात हुन सक्ने अलैंची, चिया, कफी, अकबरे खुर्सानी, छुर्पी, रुद्राक्ष, जडीबुटी, प्लाईउडलाई विशेष प्राथमिकतामा राखेर वैदेशिक बजार व्यवस्थापनका लागि पहल गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully