धुलिखेल अस्पताललाई जापानको साढे ५ अर्ब

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

5 and a half billion from Japan to Dhulikhel Hospital

काठमाडौँ — जापान सरकारले धुलिखेल अस्पताल ट्रमा र आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ । यससम्बन्धी सहमतिपत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । बजार मूल्यवृद्धि र रकम अभाव भएपछि जापानले थप ५७ करोड ३० लाख येन अनुदानमा दिएको हो ।

 यसअघि अक्टोबर २०२३ मा जापान सरकारसँग यो परियोजना कार्यान्वयन गर्न ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो । यससँगै अनुदान रकम ५ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा हस्ताक्षरलगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्तासमेत भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully