वैशाख २५ देखि लगातार घटेको नेप्से जेठ १ मा पनि साढे ८ अंकले घट्यो
काठमाडौँ — सेयर बजारको घट्ने क्रम बिहीबार पनि थामिएन । अघिल्ला चार कारोबार दिनमा लगातार घटेको नेप्सेले साप्ताहिक कारोबारको अन्तिम दिन पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन नेप्से परिसूचक ८.४१ अंकले घटेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से शून्य दशमलव ३२ प्रतिशतले घटेर २ हजार ६ सय ११ दशमलव ८५ बिन्दुमा ओर्लिएको छ । जसअनुसार गत बिहीबार १२.०४, आइतबार १२.५३, मंगलबार १४.८७ र बुधबार १३.९६ अंकले नेप्से घटेको थियो ।
बिहीबार कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १६४ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ७८ हजार ४ सय ९३ पटकको सेयर किनबेचबाट ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर किनबेच भएको नेप्सेको तथ्यांक छ ।
सो दिन कारोबारका आएका कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, व्यापार र सामूहिक लगानी कोष मात्रै बढ्यो । होटल तथा पर्यटनको ३२२.८२, व्यापारको ३०.८४ र सामूहिक लगानी कोषको शून्य दशमलव शून्य ५ प्रतिशतले सेयर मूल्य वृद्धि भएको नेप्सेले जनाएको छ ।
बिहीबार विकास बैंक, लघुवित्त, जलविद्युत्, निर्जीवन बिमा, जीवन बिमालगायत उपसमूहको परिसूचक घटे । सो दिन विकास बैंक उपसमूहको परिसूचक ११६.८६, जलविद्युत्को २२.६०, निर्जीवन बिमाको ४९.९५, जीवन बिमाको ५५.७६ र अन्यको २६.२१ अंकले घटेको नेप्सेले जनाएको छ । नेप्से लगातार घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा संकुचन आएको छ । नेप्सेको पाँच कारोबार दिनमा कुल बजार पुँजीकरण १ खर्ब २ अर्ब ८६ करोड ५५ लाख रुपैयाँले घटेको छ । अघिल्लो बुधबार ४४ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ ।
यसले पाँच कारोबार दिनमा लगानीकर्ताको सम्पत्तिको मूल्य १ खर्ब २ अर्ब ८६ करोड ५५ लाख रुपैयाँले घटेको देखिन्छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।
बिहीबार ओम मेगाश्री फार्मसिटिकल्सको ९.९९, उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५.२४ प्रतिशतले सेयर मूल्य बढे । तर, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५, जोशी हाइड्रोपावर विकासको ७.०६, ग्रिन विकास बैंकको ५.९८, सिन्धु विकास बैंकको ५.६९ र सप्तकोशी विकास बैंकको ५.२७ प्रतिशतले सेयर मूल्य घटे ।
कारोबार रकमका आधारमा बिहीबार सोल्टी होटल, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर कम्पनी अग्रपंक्तिमा रहे । जसअनुसार सोल्टी होटलको ४६ करोड १९ लाख, राधी विद्युत् कम्पनीको ४४ करोड १७ लाख, युनिभर्सल पावर कम्पनीको ३३ करोड ४५ लाख, ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख र सानिमा माई हाइड्रोपावरको २७ करोड ७ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
