छिनछिनमा किन गइरहन्छ बिजुली ?

'ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको भारतखण्डमा समस्या आउँदा बिजुली आउँदै-जाँदै'

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Why is the electricity going out?

काठमाडौँ — बिहीबार साँझ पटक-पटक बिजुली आउने-जाने भइरहँदा उपभोक्ताहरुले सामाजिक सञ्जालमा लोडसेडिङको तालिका माग्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरको भारतखण्डमा समस्या आउँदा देशभर बिजुली आउने-जाने भइरहेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले काठमाडौंमा मात्र नभई मध्य र पूर्वी नेपालभर बिजुली आउने जाने भइरहेको जनाएको छ ।

यो समस्या समाधान गर्न काम भइरहेकाले छिट्टै समस्या समाधान हुने सचिवालयले जनाएको छ । ‘भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा लाइने जाने आउने गरेको हो, काम हुँदैछ,’ सचिवालयले भनेको छ, ‘छिट्टै समस्या समाधान हुन्छ, एक ठाउँको मात्र नभई काठमाडौंलगायत मध्य र पूर्वी नेपालभरिकै समस्या हो ।’

प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले एकै पटक सिस्टम बन्द भएकाले बिजुली आपूर्तिमा समस्या भइरहेकाे बताए । नेपालको पूर्व र पश्चिम दुवैतर्फबाट विद्युत् आपूर्ती गर्न काम भइरहेकाले केहि समय लाग्ने उनले जनाए । 'एकै पटक बिजुली अवरुद्ध भए पनि सबै ठाउँमा एकै पटक सूचारु हुन केहि समय लाग्न सक्छ ।'

कान्तिपुर

Link copied successfully