काठमाडौँ — राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खडा गरेर मालवस्तु तथा सेवाको कारोबार गरी राजस्व छलेको अभियोगमा करिब चार करोड असुलउपर गरी कैद सजाएसमेत हुनुपर्ने माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
बूढानिलकण्ठको चुनिखेलस्थित मदिराको खरिद बिक्री कारोबार गर्ने के.के एण्ड के लिकर शप, बूढानीलकण्ठकै बसुन्धरास्थित के.के एण्ड के स्टोर तथा सोही ठेगानामा सञ्चालन भएको पिके इन्टर प्राइजेजको नामबाट विभिन्न मितिमा गरेको कारोबारका क्रममा राजस्व छलेको भेटिएको हो ।
तीनवटै फर्मको मुख्यव्यक्ति राजन केसीविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । विभागका अनुसार केसीले ति फर्महरुको नामबाट कारोबार गर्ने क्रममा भ्याट तथा आयकर छली गर्ने नियतले विजक जारी नगरी मालवस्तु बिक्री गरेको, झुठा लेखा तयार गरी कर छलेको, बिना बिजक सामान लिएको र बिजक जारी नगरी मालवस्तु बिक्री गरेको र सेवाको हस्तान्तरण नै नगरी बिजक मात्र जारी गरेको देखिएपछि मुद्दा दायर गरिएको हो ।
विभागले जारी गरेको विज्ञप्ति अनुसार सरकारलाई तिर्नुपर्ने कर नतिरी हानीनोक्साली पुर्याएको भन्दै ३ करोड ९९ लाख ७१ हजार ७ सय ३६ रुपैयाँ असुलउपर गरी कैद सजाएसमेत माग गरेर मुद्दा दायर गरिएको छ ।
विज्ञप्ति अनुसार मूल्य अभिवृद्धितर्फ १ करोड ९९ लाख ८५ हजार ८ सय ६८ कायम गरी बिगो अनुसार सतप्रतिशत जरिवानसमेत उल्लेखित रकम असुलउपर गर्नुपर्ने माग दाबी गरिएको हो ।
विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा राजस्व चुहावाट ऐनको दफा २३ को उपदफा १(ख) बमोजिम कैद सजाएको माग दाबी गरिएको हो । विभागले एक सातामा १ अर्ब ४६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । गत बैशाख २२ गते ध्रुव कन्ट्रक्सन कम्पनीका सञ्चालक ध्रुवदेवविरुद्ध १ अर्ब २१ करोड राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो ।
उक्त कम्पनीविरुद्ध पनि भ्याट तथा आयकर छलेको अभियोग लगाइएको छ । ध्रुवलाई पनि जेल सजाए माग गरिएको छ । गत बैशाखको दोस्रो सात विभागले इटहरी कार्यालयमार्फत श्याम बस्त्रालयविरुद्ध २१ करोड राजस्व असुलीको माग गदै जनकपुर उच्च अदालतमा मुद्दा दायर गरेको थियो । बस्त्रालयका मालिक श्यामप्रसाद गुप्तालाई कैद सजाए माग गरिएको छ ।
