मंगलबार पनि घट्यो सेयर बजार

नेप्से १४.८७ अंकले घटेर २ हजार ६ सय ३४.२३ विन्दुमा ओर्लिएको छ

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

The stock market also fell on Tuesday

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १४.८७ अंकले घटेको छ । नेप्से शून्य दशमलव ५६ प्रतिशतले घटेर २ हजार ६ सय ३४.२३ विन्दुमा ओर्लिएको हो । लगातार तेस्रो कारोबार दिन नेप्से परिसूचक घटेको छ । नेप्से गत बिहीबार १२.०४ र आइतबार १२.५३ अंकले घटेको थियो । 

मंगलबार ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने १६८ कम्पनीको घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ लाख २ हजार ४४५ पटकको सेयर किनबेचबाट ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ । २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर खरिदबिक्री भयो । विकास बैंक, जीवन बिमा, उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहहरू घटे । विकास बैंक ४७.३४, जीवन बिमा १२७.३८, उत्पादन तथा प्रशोधन २४.८४ अंकले बढेको छ । घट्ने उपसमूहमा होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बिमा र व्यापारलगायत रहे । 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मासिटिकल्सको सेयर मूल्य १० प्रतिशतले सर्किट ब्रेक लाग्यो । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, उन्नति सहकार्य लघुवित्तको ५.४४ र लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशतले सेयर मूल्य बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ६.२२, बुटवल पावर कम्पनीको ४.३१, सिक्लेस हाइड्रोपावरको ४.२७, हिमालय ऊर्जा विकास कम्पनीको ४ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ३.९९ प्रतिशतले सेयर मूल्य घट्यो । 

सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा संकुचन आएको छ । तीन कारोबार दिनमा कुल बजार पुँजीकरण ६५ अर्ब ६२ करोड घटेको छ । गत बुधबार ४४ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४३ खर्ब ८१ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । यसले तीन कारोबार दिनमा लगानीकर्ताको सम्पत्तिको मूल्य साढे ६५ अर्ब रुपैयाँले घटेको देखिन्छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । यसकारण पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको मूल्यमा कमी आउनु हो । यही आधारमा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।

कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, सानिमा माई हाइड्रोपावर र राधी विद्युत् कम्पनी अघि रहे । युनिभर्सल पावर कम्पनीको ६७ करोड २० लाख ८५ हजार, ङादी ग्रुप पावरको ५२ करोड ९० लाख ५६ हजार, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५१ कराड २५ लाख ३१ हजार, सानिमा माई हाइड्रोपावरको ४७ करोड १४ लाख ७४ हजार र राधी विद्युत् कम्पनीको ४६ करोड २९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully