प्राधिकरणले १० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको पीपीए गर्ने

प्राधिकरणले ०८१ चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरुलाई पीपीए गर्न आउनका लागि सार्वजनिक सूचना जारी गरेको हो ।  

वैशाख ३१, २०८२

सीमा तामाङ

NEA to conduct PPA for hydropower projects with capacity of more than 10 MW

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले ०८१ चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरुलाई पीपीए गर्न आउनका लागि सार्वजनिक सूचना जारी गरेको हो ।  

प्राधिकरणले १८५८.९१९ मेगावाट नदी प्रवाही (आरओआर) र ३१०७.४३४ मेगावाट अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाहरुका लागि पीपीएका लागि सूचना जारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएलगत्तै बसेको प्राधिकरण संचालक समतिकिो ९९४ औँ बैठकबाट  पीपीए खोल्ने निर्णय गरेको थियो । ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार सन् २०३५ सम्म नेपालको कुल विद्युत् जडित क्षमता २८,५०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई पूरा गर्न गत चैत १२ मा बसेको सञ्चालक समितिको बैठकले ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाहरुको पीपीएको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully