काठमाडौँ — एमाले सांसद गोकर्ण विष्टले आगामी बजेट यथार्थ र जनताको आशा जगाउनेगरी आउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले अघि सारेका सिद्धान्त र प्राथमिकता आधारभूत रूपमा सही भएको बताएका हुन् ।
वर्तमान समयमा युवाहरूको तीव्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्नेमा सांसद विष्टले जोड दिए । '१६ औं योजनाले पाँच वर्ष मुलुकको विकास र अर्थतन्त्रलाई कता लैजाने दिशानिर्देश गरेको छ । लामो समयदेखि नेपालका सन्दर्भमा विकासका केही गम्भीर चुनौती देखापरेका छन् । खासगरी, न्यून आर्थिक वृद्धि, न्युन उत्पादन र उत्पादकत्व, सार्वजनिक खर्च र स्रोत परिचालनको अवस्था,' उनले भने ।
एकाध प्रतिशतको कमाइले प्राप्त हुने आर्थिक वृद्धि वा प्रतिव्यक्ति आम्दानी अब नचाहिएको भन्दै आधारभूत वर्गको जीवनलाई माथि उठाउनेगरी, श्रमिकको पारिश्रमिक र उत्पादकत्व वृद्धि गर्नेगरी प्राकृतिक स्रोत साधन र राज्यका लाभहरूको न्यायोचित वितरण गर्नेगरी समाजवादको आधार तयार गरिनुपर्नेमा विष्टको जोड छ ।
